रामेछापको ६ वटै गाउँपालिकाकाे केन्द्रमा बैंकको शाखा सञ्चालन 



स्नेहा सिलवाल
९ पुस, रामेछाप । रामेछापको छ वटा गाउँपालिकाको केन्द्रमा बैंकको शाखा स्थापना भएको छ । सरकारले हरेक स्थानीय तहका एक बैंक स्थापना गर्ने निर्णय अनुसार रामेछापको छ वटा गाउँपालिकाको केन्द्रमा बैंकको शाखा स्थापना भएर सञ्चालन भएका हुन् ।
रामेछाप सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीमा सिटिजन्स बैंकको शाखा सञ्चालनमा आएको छ । सुनापती गाउँपालिकाको सबै आर्थिक कारोबार अहिले सिटिजन्स बैंक मार्फत हुँदै आएको छ । विगतमा विकास निर्माण लगायत गाउँपालिकाबाट हुने कामको भुक्तानी लिन सदरमुकाम मन्थली जानुपर्ने बाँध्यता हटेको छ ।


त्यसैगरी दोरम्बा गाउँपालिकाको केन्द्र टोकरपुरमा जनता बैंकको शाखा स्थापना भएर कारोबार सुरु भएको छ । दोरम्बा गाउँपालिकाले सबै कारोबार जनता बैकबाट हुँदै आएको छ । गाउँपालिकामा नै बैंक सञ्चालन आएपछि स्थानीयलाई ठूलै राहत भएको छ । जनता बैंकका शाखा प्रबन्धक वासु ढुगानाले बैंकको शाखा स्थापना भएपछि एक हजार भन्दा बढी ग्राहक भइसकेको रामेछाप न्युजलाई बताउनुभयो ।
खाँडादेवी गाउँपालिकाको केन्द्र माकादुममा भने लक्ष्मी बैंकको शाखा स्थापना भएर सेवा प्रवाह भइरहेको छ । बैंक स्थानापना भएपछि गाउँपालिकाभित्र आर्थिक कारोबार गर्न सहज भएको छ । लक्ष्मी बैंक खाँडादेवी शाखाका प्रबन्धक सुवास खड्काले रामेछाप न्युजसँग भन्नुभयो,‘गाउँपालिकाको सबै कारोबार बैंकबाटै हुन्छ, अहिलेसम्म १५ सय भन्दा बढी ग्राहकलाई सेवा दिएका छौ ।’
लिखु तामाकोसी गाउँपालिकामा इन्भेष्टमेन्ट बैंकको शाखा मार्फत सेवा सञ्चालन भइरहेको छ । लिखु तामाकोसी गाउँपालिकाले पनि इन्भेष्टमेन्ट बैंक मार्फत कारोबार गर्दै आएको छ । इन्भेष्टमेन्ट बैंक धोवी शाखाका प्रबन्धक दिपक दाहाले बैंक स्थापना भएपछि गाउँघरमा छरिएर रहेको पुँजी बैंकमा बचत गर्ने क्रम बढेको रामेछाप न्युजलाई बताउनुभयो ।
रामेछापको गोकुलगंगा गाउँपालिकाको केन्द्रमा रस्नालुमा पहिलो पटक सिद्धार्थ बैंकको शाखा स्थापना भएको थियो । बैंक सञ्चालन आएपछि घण्टौ धाएर सदरमुकाम मन्थली जाने बाँध्यता हटेको गाउँपालिकाका प्रवक्ता बलराम खड्काले बताउनभुयो । सिद्धार्थ बैंक रस्नालु शाखाका प्रबन्धक प्रदिप कार्कीले गाउँपालिकामा बैंक सञ्चालन आएपछि स्थानीय तहमा नै कारोबार गर्न निकै सहज भएको बताउनुभयो ।
त्यसैगरी उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रितिमा पनि सनराइज बैंकको शाखा स्थापना भएको छ । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले गाउँपालिकाका बैंक सञ्चालन भएपछि धेरै सहज भएको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘बैंक स्थापना नहुँदा निकै ठूलो सास्ती थियो, अहिले धेरै सजिलो भएको छ ।’

प्रतिक्रिया दिनुहोस्