मन्थलीमा ताजा मासुको अभाव भएपछि प्रशासनको सक्रियता



रामचन्द्र वि.क.
९ पुस,रामेछाप । रामेछापको सदरमुकाम मन्थली बजारमा गुणस्तरहीन मासु खुेलआम विक्री भएको पाइएको छ । यतिसम्म कि केही मासु पसलहरुले गुणस्तरहीन मासु विक्री गरेर उपभोक्तको स्वास्थ्यमाथि नै खेलवाड गरेको पाइएका हो ।

सोमवार  सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराईको नेतृत्वमा गएको संयुक्त मासु पसल अनुगमन टोलीले जुनेश मासु पसलबाट लामो समयदेखि फ्रिजमा राखेर बिग्रेको ४६ केजी मासु समेत बरामद गरेको छ ।
जिल्लाको सदरमुकाम समेत रहेको मुख्य बजार मन्थलीको मदनभण्डारीचोक नजिकै रहेको जुनेश मासु पसलले कुखुरा र खसीको मासु खरिद विक्री गर्ने भनेर अनुमति लिएको छ । तर पसलले गुणस्तरहिन रागाको मासु पनि खुलेआम रुपमा विक्री गरीरहेको पाइएको भन्दै अनुगमन टोलीले दुई हजार जरिवाना समेत गरेको छ ।


त्यस्तै अर्को न्यू फेमस मिट सपबाट ४.६ केजी रागाँको, ४.८ केजी कुखुराको गुणस्तरहिन मासु, उत्पादन मिति नलेखिएको ९ केजी ससेज बरामद गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले बताएको छ । न्यू फेमस मिट सपलाई व्यवसाय नविकरण नगरेकाले ५ हजार जरिवान समेत गरिएको छ । मन्थली मासु पसलबाट पनि २ केजी कुखुराको गुणस्तरहिन मासु बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

बजारमा ताजा मासुको अभाव भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले बजारमा रहेका मासु पसलहरुमा अनुगमन गरेको हो । प्रशासनले मासु सहित अन्य खाद्य पदार्थमा नियमित रुपमा अनुगमन प्रक्रिया अगाडि बढाउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्