खाँडादेवी गाउँपालिकामा डाक्टर सहित घरघरमा निशुल्क स्वास्थ्य सेवा



११ पुस, रामेछाप ।
खाँडादेवी गाउँपालिकाले घरघरमा स्वास्थ्य सेवा पुर्याउने अभियान अन्तर्गत ६० बर्ष भन्दा माथिको बृद्धाबृद्धलाई टोलटोलमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाभित्रको नौ वटै वडाका वस्ती वस्तीमा पुगेर बृद्धाबृद्धाको स्वास्थ्य जाँच गरेर औषधी वितरणको अभियान अगाडि बढाएको हो ।


यस आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा नै गाउँपालिकाले विपन्न, महिला, दलित, अल्पसंख्यक र जेष्ठ नागरिकहरुको स्वास्थ्य हेरचाह गर्न घरघरमा स्वास्थ्य सेवा पुर्याउने प्रारम्भिक पहल गर्ने कार्यक्रम अन्तर्गत वडा नम्बर ९ पिङखुरीबाट कार्यक्रम अगाडि बढाइएको छ ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले स्वास्थ्य नागरिकको मौलिक अधिकारभित्र रहेको बताउदै गाउँपालिकाभित्र घरघरमा नै स्वास्थ्य सेवा प्रवाह गर्ने उदेश्यको साथ कार्यक्रम सुरु गरिएको बताउनुभयो ।


उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘गाउँपालिकाको वडा नम्बर ९ पिङखुरीको वस्ती वस्तीमा पुगेर बृद्धाबृद्धाहरुको स्वास्थ्य अवस्था जाँच गर्दै निशुल्क रुपमा औषधी उपलब्ध गराएका छौ ।’
उहाँका अनुसार ६० बर्ष उमेर भन्दा माथिका पुरुष १०६, महिला १६८ जम्मा २७४ जनाको स्वास्थ्य परीक्षण गरेर औषधी वितरण गरिएको छ । अभियानमा डा. कार्यक्रममा डा. निराजन खाती, खाँडादेवी गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक ओमप्रकाश श्रेष्ठ लगायतको सहभागीता रहेको छ । जेष्ठ नागरिकहरको दम खोकी प्रेसर, सुगर लगायतको परीक्षण गरिएको छ ।


गाउँपालिकाका अध्यक्ष तामाङले गाउँपालिकाका नागरिकहरुलाई आधारभुत उपचार प्रदान गर्न एक्सरे मेसिन, रोग निदानको लाग ल्याब र फार्मेसीको व्यवस्थापनको लागि काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्