सुनामीबाट सयौंको मृत्यु भएकोमा इन्डोनेसियाली समकक्षीलाई राष्ट्रपति भण्डारीको ‘बधाइ’ !



११ पुस, काठमाडौं । सरकारी विज्ञप्ति कति हतार र लापरवाहीका साथ प्रकाशित गरिन्छ भन्ने उदाहरण हो, बुधबार परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति । कर्मचारीको ‘कपी पेष्ट’ गर्ने बानीले कुन हदसम्म राष्ट्रको बेइज्जत हुन्छ भन्ने यो ज्वलन्त उदाहरण हो ।

“राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार इन्डोनेसियाको बान्टेन र लामपुङ क्षेत्रमा आएको सुनामीको कारण कयौंको ज्यान गएकोमा इन्डोनेसियाको राष्ट्रपतिलाई एक बधाई सन्देश पठाउनु भएको छ,” परराष्ट्र मन्त्रालयले एकसाथ सयौं नेपाली र विदेशी सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई इमेल मार्फत पठाइएको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिको पहिलो अनुच्छेदमा इन्डोनेसियाको राष्ट्रपतिलाई इन्डोनेसियाका कयौं नागरिकको मृत्यु भएकोमा बधाई दिइएको भएपनि दोस्रो अनुच्छेदमा भने दुःख व्यक्त गरिएको छ ।

“सन्देशमा राष्ट्रपतिले कयौंको ज्यान गएकोमा नेपाल सरकार र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो दुःख व्यक्त गर्नु भएको छ,” विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा जारी उद्धार कार्यमा सफलता मिलोस् भन्ने कामना पनि गरिएको छ ।
इन्डोनेसियामा शनिबार आएको सुनामीका कारण बुधबारसम्म ४२० जनाभन्दा बढीको ज्यान गइसकेको छ । उद्धार कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्