प्रचण्डलाई रामेछापको सुन्तलाको माला, अब सु्न्तला पकेट क्षेत्र घाेषणा होला ?



१४ पुस, काभ्रे ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रामेछापको सुन्तलाको मालाले स्वागत गरिएको छ । रामेछाप जिल्लाको सुन्ताल फल्ने क्षेत्रलाई पकेट क्षेत्रको रुपमा घोषणा गर्न माग गर्दै रामेछाप दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले अध्यक्ष प्रचण्डलाई सुन्तलाको माला लगाइदिनुभएको हो ।

काभ्रेको खाँडादेवी मावि प्राविधिक विद्यालय कोशीपारी नग्रेगगचेको स्वर्णजन्तीको अवसरमा दोरम्बा गाउँपालिकाका जनप्रतिनिधिहरुले दोरम्बाको वडा नम्बर ६, ७ र ४ लाई सुन्तला पकेट क्षेत्रको रुपमा घोषणा गर्न माग गरेका छन् । दोरम्बा गाउँपालिकाको पुडी, खापु, थापागाउँ, डोप्ला, गौश्वराको टेपसिंङ लगायतको क्षेत्रमा अत्याधिक रुपमा सुन्तला फल्ने गरेको छ ।


यस क्षेत्रका बासिन्दाले सुन्तलालाई नै मुख्य पेशा बनाउदै आएका छन् । राज्यको तर्फबाट सुन्तला खेतीको लागि पर्याप्त सहयोग नभएको गुनासो किसानले गर्दै आएका छन् । केही बर्षयता सु्न्तलामा विभिन्न रोग लाग्ने समस्याबाट किसानहरु चिन्तित मात्र होइन पेशाको विकल्प नै खोज्नु पर्ने हो कि भन्ने अवस्थामा पुगेका छन् ।


दोरम्बालाई सुन्तला पकेट क्षेत्र बनाउने प्रचण्डको प्रतिबद्धता
दोरम्बा गाउँपालिकाका अध्यक्ष मोक्तानकाे मागप्रति अध्यक्ष प्रचण्डले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । प्रचण्डले सु्न्तला पकेट क्षेत्र घोषणा गर्नको लागि रामेछाप र काभ्रे जिल्लाले मिलेर काम अगाडि बढाउनु पर्ने सुझाव पनि दिनुभएको छ । अध्यक्ष प्रचण्डले मन्त्रालयमा सुन्तला पकेट क्षेत्रको रुपमा घोषणा नर्ग पहल गर्ने आश्वासन पनि दिनुभएको अध्यक्ष मोक्तानले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्