रामेछाप मालपोत कार्यालय प्रमुखको अनौठो धन्दा



१५ पुस, रामेछाप ।
सरकारी कार्यालय सर्वसाधारणको सेवा सुविधाको लागि हो । तर रामेछापको सदरमुकाम मन्थलीमा रहेको मातपोत कार्यालयमा भने कार्यालय प्रमुखले अनौठो धन्दा चलाएपछि सेवाग्राही र स्थानीय छक्क परेका छन् । सर्वसाधारणले सेवा लिने ठाउँमा कुखुरा पालन गरेपछि कार्यालय प्रमुख वद्री राज ढकालको चर्को आलोचना भएको छ ।

केही समय अघि सर्बसाधारणले कार्यालय परिसरमै कुखुरा पालेको भनेर सामाजिक संजालहरुमा फोटो समेत हालेका थिए । त्यति हुँदा समेत प्रमुखले कार्यालय भवन भित्र जाने बाटो नै बन्दा गरेर कुखुरा पालन गर्दा कामका लागि आउने अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक र गर्भवती महिलाहरुलाई कार्यालय भित्र अफ्टेरो बाटो भएर जानु पर्ने बाध्यता छ ।

कार्यालय परिसरभित्र पालिएका कुखुरा खुल्ला रुपमा छाडिदाँ कार्यालय परिसर र कार्यकक्ष भित्रै फोहोर गर्दा कार्यालयका कर्मचारी र कामको लागि आउने सेवाग्रहीहरुलाई समेत प्रत्यक्ष रुपमा असर परेको छ । कार्यालय परिसरभित्रै कुखुरा पालनको विषयमा मन्थली–१ का चिरन्जीवि दाहाल मालपोत कार्यलयको चर्तिकलाका वारेमा थाहा पाउन कार्यालय भित्रै गएर हेर्न सरोकारवाला निकयलाई आग्रह गर्छन् । उनले प्रमुख ढकाल नियमित रुपमा कार्यालयमा नबस्ने गरेको आरोप समेत लगाए ।


त्यस्तै गोकुलगंगा गाउँपालीका–५ का दिपक खड्काले आफुले केही हप्ता अघि प्रमुखले कार्यालय परिसर भित्र कुखुरा पालन गरेको तस्वीर सामाजीक संजालमा राखेको स्मरण गर्दै भने, “मैले तस्बिर फेसबुकमा राखेपछि कार्यालय प्रमुखले कार्यालयमानै बोलाएर तत्काल कुखुरा हटाउने सर्तमा उक्त्  फोटो आफुले सामाजिक संजालबाट हटाएँ, तर अझैसम्म कुखुरा हटाइएको छैन् ।”


कार्यालय परिसरमै कुखुरा पालनको विषयमा प्रमुख ढकालले कार्याल परिसर फराकिलो भएकोले आफुले कुखुरा पालन गरेको बताए । कार्यालय प्रमुखले कुखुरा पालन गर्दा सवैलाई गौरान्वित हुनु पर्नै कुरामा जोड दिए । त्यसवाहेक आफुले कार्यालय परिसर भित्र कुखुरा पालन गरेर कृषि व्यवसाय प्रर्वद्धर्नमा टेवा पुगेको पनि प्रमुख ढकालको भनाई छ । त्यस्तै कार्यालयमा काम लिएर आउने कुनै पनि सेवाग्राहीरुको काममा समस्या नआएको उनले दाबी गरे । कार्यालयको मुख्य गेट लगाएर कुखुरा पालन गरेको आरोपका सम्वन्धमा ढकालले गेट आफु आउनु अघिनै सडक निर्माणको क्रममा लागेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्