रामेछापको विकासमा रातदिन हाजिर छुः मन्त्री ढुंगेल



२१ पुस, रामेछाप ।

प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लाको विकास निर्माणको लागि आफू प्रतिबद्ध भएर लागेको बताउनुभएको छ । उहाँले निर्वाचनको क्रममा गरेको प्रतिबद्धता अनुसार नै सरकारले काम गरिरहेको बताउदै विकास निर्माणको कामलाई तीब्रता दिएको बताउनुभएको हो ।


सुुनापती गाउँपालिका–१ गुन्सीमा रहेको शतलिङगेश्वर मावि गुन्सीको ६२ औ बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप प्रदेशसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद समेत रहनुभएका मन्त्री ढुंगेलले रामेछापलाई समृद्धि बनाउने कार्यमा आफू अहोरात्र लागिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘तीन वटा सडक कालोपत्रे गर्नको लागि टेन्डर प्रक्रिया अगाडि बढेको छ, अस्पताल सञ्चालन प्रक्रियामा अगाडि बढिसक्यो, प्रहरी चौकी निर्माणको लागि बजेट विनियोजन भइसकेको छ ।’


मन्त्री ढुंगेलले स्वास्थ्य, शिक्षा, कृषि, सडक र पर्यटन क्षेत्रको विकासमा विशेष ध्यान दिएको बताउदै प्राथमिकता निर्धारण गरेर नै काम अगाडि बढाइएको बताउनुभयो । स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर काम भइरहेको बताउदै मन्त्री ढुंगेलले भन्नुभयो,‘मलाई रामेछापका जनतालाई जिताएर सासददेखि मन्त्री बनाउनुभएको छ, म बिहान बेलुका नै रामेछापवासीको सेवा गर्न तयार छु ।’
उहाँले सरकारले केही काम गरेन भनेर गलत प्रचार भइरहेकोप्रति आपत्ति जनाउदै विकास निर्माणको काममा सरकार पूर्ण रुपमा प्रतिबद्ध भएर लागेको बताउनुभयो । प्रदेश नम्बर ३ लाई समृद्ध बनाउने अभियानमा सरकार अगाडि बढिरहेको उहाँको भनाई थियो । मन्त्री ढुंगेलले सामुदायिक क्याम्पसहरुको सुधारको लागि सरकारले कार्यक्रम अगाडि बढाएको बताउदै शतलिङगेश्वर माविको स्तरउन्नती गर्ने कार्यमा पनि आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


सुनापती गाउँपालिका–१ गुन्सीका वडा अध्यक्ष चण्डेश्वर चौलागाईको सभापतित्वमा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाई, सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा, दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान, प्रदेश कमिटीका सदस्य टंकलाल घिसिङ ‘टकल’, तुलाप्रसाद कडेल, सुनापती गाउँपालिकाकी उपाध्यक्ष गिता विष्ट, सुनापती गाउँपालिका–४ बेथानका वडा अध्यक्ष खड्क घिसिङ, सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्