जिल्ला कारागार रामेछापका कैदीबन्दीले गरे रक्तदान



२१ पुस, रामेछाप ।

जिल्ला कारागार रामेछापका कैदीबन्दीहरुले पहिलो पटक रक्तदान गरेका छन् । विभिन्न अपराधमा कैद सजाय भोगिरहेका ६८ जना कैदीबन्दीले पहिलो पटक रक्तदान कार्यक्रममा सहभागी भएका हुन् । व्रजमोहन सुभद्रादेवी स्मृति प्रतिष्ठान सालु रामेछापले शनिबार आयोजनामा गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्दै सामाजिक कार्यमा योगदान गर्न पाएको भन्दै कैदीबन्दीहरुले खुसी व्यक्त गरेका छन् ।
रक्तदान पछि खुसी हुँदै विगत ९ बर्ष देखि कैद भुक्तान गरिरहेका नुवाकोटका बसन्त थापाले भने, ‘हामी पनि अरु मान्छे जस्तै हौँ, हामी पनि विभिन्न सामाजिक सेवा गर्न सक्छौँ । उनले थपे, हाम्रो रगतले कसैको ज्यान बाँच्छ भने हामी अझै पनि रक्तदान गर्न तयार छौँ ।’

कैदीबन्दीले रक्तदान कार्यक्रममा सहभागी भएर समाजसेवामा पु¥याएको योगदानको उच्च मुल्याङ्कान गर्नु पर्ने प्रतिष्ठानका अध्यक्ष गोविन्द प्रसाद काफ्लेले बताए । रक्तदान कार्यक्रममा जिल्लाका अन्य ४२ जना सर्वसाधरणले समेत रक्तदान गरेको छन् । त्यस्तै प्रतिठानले रक्तदान सँगै गरेको निशुल्क स्वास्थ्य शिविरबाट तीन सय जनाले सेवा लिएका छन् ।


प्रतष्ठानले विगत १० बर्ष देखि शिक्षा, स्वास्थ्य लगायत विभिन्न विपत्तमा काम गर्दै आएको प्रतिष्ठानका अध्यक्ष काफ्लेले बताए । जिल्ला कारागार रामेछापका प्रमुख प्रमोद अधिकारी लगायतले रक्तदान गरेका छन् ।
यस अघि कहिले पनि कारागार कार्यलयमा रक्तदान कार्यक्रमको आयोजना नगरिको थिएन । पहिलो पटक रक्तदान गर्न पाउँदा खुसी लागेको कारागारका कैदीबन्दी कृष्ण थापाले बताए । समाजले हामीलाई हेर्ने दृष्टिकोणमा फरक भएपनि यसरी आफुलाई रक्तदान गेरर समाजसेवा गर्न पाउँदा निकै खुसी लागेको छ, उनले भने ।


सारथी युवा क्लब रामेछाप बजारको सह आयोजना, काठमाडौँ मेडिकल कलेज सिनामंगल काठमाडौँ र नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र धनुषाको प्रविधिक सहयोगमा आयोजित स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा स्थानीयले पनि सेवा लिएका छन् ।  निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा स्वास्थ्य परीक्षण गराएपश्चात खुसी व्यक्त गर्दै रामेछाप नगरपालिका– ६ की ८५ वर्षिया वृद्ध गीता माया खड्काले निशुल्क औषधी पाउनु राम्रो भएको बताइन । स्वास्थ्य शिविरमा नाक, कान, घाँटी, आँखा, स्त्रीरोग र हाडजोर्नी लगायतको उपचार र परामर्श दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्