रामेछापको उमाकुण्ड कृषि महोत्सवमा कृषकको भीड



रामचन्द्र वि.क.
२२ पुस, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाको भुजीमा आयोजना गरिएको एक हप्ते कृषि महोत्सव सम्पन्न भएको छ । उमाकुण्ड–७ भुजीमा आयोजन गरिएको महोत्सवमा रामेछाप, दोलखा, ओखलढुङ्गा लगायतका करिब तीन हजार जना भन्दा बढीले अवलोकन गरेका छन् । ३५ ओटा स्टलमा एक सय भन्दा बढी स्थानीय स्तरमै उत्पादित कृषि उपजहरु राखिएको थियो ।


महोत्सवको समापन कार्यक्रमलाई संवोधन गर्दै प्रदेश नं. तीन रामेछापका सांसद शान्ति पौडेलले स्थानीय स्तरमा उत्पादन हुने कृषि उपजलाई प्रदेश सरकारले सहज रुपमा विक्री गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले सहजै रुपमा उत्पादन गर्न सक्ने गुन्द्रुक समेत आयत गर्नु लाज मर्दो कुरा भएकोे स्मरण गर्दै गुन्द्रुक आयतलाई रोक्ने गरी किसानले नेपालमै उत्पादन गरी आफ्नो आम्दनीलाई बढाउनु पर्नेमा जोड दिनुभयो । जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउनको लागि आफुले प्रदेशस्तरको कृषि कार्यक्रम ल्याउनको प्रदेश सरकारसँग पहल गर्ने पनि पौडेलले बताउनुभयो ।


गाउँपालिकाका किसानहरुमा कृषि चेतनाको विकास तथा उत्प्रेरणा गर्ने मुख्य उद्देश्यका साथ संचालन गरिएको महोत्सवले किसानहरुलाई प्रत्यक्ष फाइदा पुगेको आयोजक राजेश पशुपालन विकास फार्मका संचालक तथा महोत्सवका संयोजक राजेश बराइलीलले बताउनुभयो । महोत्सवले गाउँपालिकाका किसानहरुलाई कृषि क्षेत्रमा लाग्न प्रेरित गरेको संयोजक बराइलीको भनाइ छ ।


कार्यक्रममा राष्ट्रिय कलाकार सितल के.सी, लोकगायक साजन घतने, बाँसुरी बादक महेश रसाइली, ¥यापर शरह पराजुली लगायत स्थानीय कलाकारहरुले बेजोड प्रस्तुती समेत देखाएका थिए । महोत्सव राजेश पशुपालन विकास फार्म भुजी र अन्जना कृषि तथा पशुपालन फार्म काठमाठौको आयोजना तथा उमाकुण्ड गाउँपालिकाको प्रायोजनमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्