सुनापती र खाँडादेवी गाउँपालिकाबीच सीमा विवादः तथ्य र भ्रम



दिमीपोखरी र खाँडादेवीको विबादित सीमाना भनिएको गाल्वा बजार र त्यसको आसपासका भु–भाग हिजो इतिहासदेखि वर्तमानसम्मको प्रमाण तथ्य र पुष्टिको आधार मान्ने हो भने सुनापति गाउँपालिका.–२ साविक दिमीपोखरी गाविस वडा नम्बर.४ र ५ भित्र रहेको स्पष्ट देखिन्छ ।
वि.स.२०३२ सालदेखी हालसम्मको नापी नक्सा र व्यक्तिको जग्गाको लालपुर्जामा उक्त गाल्वा बजारदेखि पुर्वपट्टि रहेको दुम्सी ढुंगा आसपास रहेको जग्गा र गाल्वा वजारबाट दक्षिण–पूर्व पट्टि रहेको अँधेरीखोलादेखि त्यस खोलाको शीर, लेकबारी, निग्रेथान डाँडासम्म रहेका सयौँ रोपनी जग्गा लगभग २० जना भन्दा बढी दिमीपोखरीका जनताहरुको नाममा मात्र लालपुर्जा र नक्सा कायम रही आएको छ ।
पञ्चायतकालदेखिका जनप्रतिनिधि, स्थानीय बुढापाका, वुद्विजीवि र आसपासका छिमेकी जानकार सबैको भनाईलाई आधार मान्दा त्यस क्षेत्रको सीमाना उत्तरमा अग्लेश्वर, भेडाखोर डाँडा, आहालडाडाँ, दुम्सी ढुङ्गा, पूर्वमा अधेरीखोला, लेकवारी, अधेरीखोलाको शीर निग्रेथान डाडाँको गैरी भाग हो ।


अझै पनि दिमीपोखरीका जनताले उक्त अधेरीखोला आसपासका आफ्ना पुर्जावाला जग्गामा खेती गर्ने घाँस रोप्ने, बस्तुपालन गर्ने जस्ता काम बाट उपभोग गर्दे आइरहेका छन् । विगत केही वर्षदेखि उक्त क्षेत्रको गाल्वा आसपासका रहेको सार्वजनिक जग्गा हडपेर अनाधिकृत रुपमा घर टहरा बनाई बस्न थालेपछि गाल्वाको प्राकृतिक सौन्दर्य मासिनुका साथै सडक बिस्तारको काममा समेत कठिनाई भएको छ ।

गाल्वामा अव्यबस्थित रुपमा घरटहरा निमार्णले तामाङ समुदायको अन्तिम संस्कारको घाट नै विस्थपित भइसकेको छ । सरकारी जग्गा अनाधिकृत रुपमा चाक्ला पारी बेचबिखन गर्न थालेपछि दिमिपोखरीका जनता आक्रोशित भएका हुन । विगत लामो समयदेखि सीमाको विषयमा कुरा उठाउँदा पनि कतैबाट सुनुवाई नभएपछि स्थानीय अधिकारी मार्फत उजुरी दिएका थिए । सोही उजुरीलाई सुनुवाई गर्न र स्थलगत अध्ययन गर्न मिति २०७५ मंशिर ११ गते जि

ल्ला समन्वय समितिका प्रमुख, नापी कार्यालय र मालपोत कार्यलयका प्रमुख समेत गाल्वामा उपस्थित भएका थिए ।
जिल्लाको टोली र स्थानीय जनप्रतिनिधिहरु आउँदा दिमीपोखरीका वृद्ध बुबा आमाहरु हात हातमा आफ्नो जग्गाको लालपुर्जा बोकेर आफुले विगत देखि भोगचलन गर्दै आएको भूमिमा विवाद नगरी दिनु भन्दै आँसु झारीरहेका थिए ।
खाँडादेवी गाउँपालिकाले २०३८ सालका गाउँपञ्चायतको निर्णय अनुसार सीमा र नक्सा कायम गरिएको भनिएता पनि को कससँग कहाँ कसरी टुङ्ग्याएको हो भन्ने बारे दिमीपोखरीका तात्कालिन प्रधानपञ्च पदम योञ्जनले आफुलाई जानकारी नभएको बताउनुभयो ।

होमराज खपाङ्गी मगर

त्यसैगरी २०५६ सालमा गाल्वाको केही भू–भाग २०४० सालतिर देखि बसोवास गर्दै आएका व्यक्तिहरुलाई ९ वटा घरेडी जिल्ला प्रसाशनको स्वीकृतिमा मालपोत र नापी कार्यलयले वितरण गरेको थियो । उक्त २०५६ पछिको नापी नक्सा, लालपुर्जा पनि ०३२ सालकै अनुसार प्रचलनमा आइरहेको छ, भने खाँडादेवी गाउँपालिकाले २०३८ को तर्कहीन, आधारहीन र बिना प्रमाणको कुरामा दिमीपोखरीका जनता मान्ने अवस्थामा छैन ।
खाँडादेवी गाउपालिकाले पेश गरेको अर्काे तर्क हो गाल्वामा रहेको श्री ज्योति माविको ठेगाना खाँडादेवी–२ लेखिएको छ । तर सो स्कुलको इतिहासलाई हेर्दा पहिले स्थापना हुँदा साविक खाँडादेवी गाविस–२ गालिसान डाडाँमा रहेको र त्यहाँ पर्याप्त ठाउँ नपुगेपछि फराकिलो ठाँउ गाल्वामा स्थानान्तरण गरिएको र पहिल्यै दर्ता भएको कारण ठाउँ सारेपनि स्कुलको ठेगाना साविककै रहन गएको तर भू–भाग भने दिमीपोखरी कै हो भन्ने कुरा खाँडादेवीका गाविसका पूवर्् उपाध्यक्ष तथा उक्त विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष कर्ण बहादुर मगर बताउनुहन्छ ।

देशमा द्धन्दको समाप्ति र शान्ति प्रक्रिया स्थापना भएपछि २०६४ सालमा खाँडादेवीका केही स्थानीयय युवा तथा राजनैतिक नेताहरुको मिलेमतोमा गाल्वा बजार आसपासमा रहेको सार्वजनिक जग्गा प्रति घरेडी १० हजार देखि ५० हजार सम्ममा विक्रि गरिएको र त्यही घरेडीमा हालको वडा अध्यक्ष लगायतले घर टहरा निमार्ण गरी बसोबास र व्यवसाय सञ्चालन गरेको कारण त्यस भू–भाग दिमीपोखरी कायम भएमा सबै पोल खुल्ने डरले पनि केही व्यक्तिहरु सीमालाई प्रमाण र तथ्यको आधारमा भन्दा पनि मुडेबल र राजनैतिक हस्तक्षेपमा टुङ्ग्याउने कोसिसमा देखिन्छ ।


गाल्वा बजारबाट करिब सय मिटर दुरीमा महिनाको २ पटक लाग्ने हाट बजारमा आउजाउ गर्न समेत गाह्रो हुने गरी सार्वजनिक जग्गामा घर टहरा निमार्ण गरी रोड ल्याउदा मुआब्जा लिएर पनि बाटो नछोड्दा स्थानियलाई हिडडुल गर्न गाह्रो भएको र प्राकृतिक रुपमा दोहन गरी गाल्वालाई कुरुप बनाएकोले दिमीपोखरीका स्थानिय आक्रोशित भएका हुन । यो विषयलाई जिल्ला समन्वय समितिका प्रमुख, मालपोत तथा नापी कार्यलयका प्रमुख, स्थानीय जनप्रतिनिधिलाई तथ्य र प्रमाणको आधारमा सहज ढंगबाट टुङ्ग्याउन अनुरोध गरेका छौँ। । अन्यथा कुनै राजनैतिक हस्तक्षेप र दबाबबाट प्रभाबित भएर निणर्य गरेमा माथिल्लो निकायमा न्यायको ढोका ढकढक्याउन दिमीपोखरीका जनता बाध्य हुनेछ ।
उक्त भु भागमा दुम्सी ढुंगा देखि अँधेरीखोला सम्म दिमीपोखरीका निम्न जनताको पुर्जावाला जग्गा रहेको छ । जसको नापी, नक्सा र ठेगाना दिमीपोखरी उल्लेख छ ।
१ पञ्छी तामाङ — सुनापाति गा.पा.२ दिमीपोखरी(साविक–५)
२ कान्छी तामाङ — ( ” ” ”)
३ टेक बहादुर मगर — ( ” ” ”)
४ फर्वा लामा — ( ” ” ”)
५ राम ब. लामा — (” ” ”)
६ रेवति लामा — (” ” ”)
७ लोपन लामा — (” ” ”)
८ मोहन घिसिङ — (” ” ”)
९ नर बहादुर मगर — (” ” ”)
१० सोम बहादुर मगर— (” ” ”)
११ सम्भु घिसिङ — (” ” ”)
१२ प्रविन बल — (” ” ”)
१३ सुकुमाया मगर — (” ” ”)
१४ आले लामा — (” ” ”)
१५ कमल प्रसाद चौलागाई —(” ” ”)

प्रतिक्रिया दिनुहोस्