कुलमान घिसिङको चमत्कारः नेपालले भारतलाई बेच्न थाल्यो विद्युत



२३ पुस, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङको सक्रियतामा नेपालमा बिजुली आयत मात्र होइन बिजुली बेच्ने काम पनि सुरु भएको छ । लोडसेडिङबाट देशलाई मुक्त गरेका घिसिङकै पहलमा अहिले भारतलाई बिजुली बेच्ने काम सुरु भएको हो ।

नेपालले भारतबाट विद्युत आयत गदै आएको छ । तर, नेपालले पनि भारतमा विद्युत निर्यात गर्छ भन्दा अचम्म लाग्न सक्छ । भारतको विहार राज्यका नेपालसँग सीमा जोडिएका क्षेत्रमा विद्युत निर्यात हुँदै आएको छ । भारतसँग किन्ने विद्युत र बेच्ने दर रेट समेत समान रहेको छ ।

नेपालले प्रत्येक बर्ष अन्तर्राष्ट्रिय बजारमा विजुली निर्यातको दर बढाउँदैछ । चालु आर्थिक बर्षको ६ महिनामा नेपालले भारतीय बजारमा २ करोड युनिट विद्युत निर्यात गरेको छ । नेपालले विद्युत बिक्रिबाट मात्रै १० करोड ४७ लाख ५० हजार ७ सय भारतीय रुपैयाँ आम्दानी गरेको हो । अप्रिलदेखि नोभेम्बर २०१८ भित्रमा नेपाल विद्युत प्राधिकरणले भारतका विद्युत व्यापारीलाई प्रतियुनिट ५ रुपैयाँ ५५ पैसाका दरले विद्युत् विक्री गरेको हो ।


सन् २०१४ मा नेपाल र भारतबीच सम्पन्न विद्युत व्यापार सम्झौता (पीटीए) ले नेपालले भारतलाई विद्युत बेच्ने औपचारिक ढोका खोल्ने वातावरण बनाएको थियो । तर, व्यावहारिक रूपमा भने धेरै अघिदेखि नै नेपालबाट विद्युत निर्यात हुँदै आएको छ । हालसम्म नेपालले भारतको विहार प्रान्तमा विद्युत निर्यात गरेको तथ्यांक छ । प्राधिकरणले भारतको नर्थ विहार पावर डिस्ट्रिब्युशन कम्पनीलाई कटैया–कुशाहा र कटैया–दुहबी विन्दुबाट विद्युत् उपलब्ध गराउँदै आएको छ ।

कटैया–कुशाहा र कटैया–दुहबी विन्दुबाट २०७३ जेठदेखि २०७५ वैशाखसम्ममा कुल ५८ लाख ९४ हजार युनिट विद्युत निर्यात भएको तथ्यांक प्राधिकरणसँग छ । प्राधिकरणले ४ सय ५६ मेगावाटको तामाकोशी संचालनमा आएपछि हिउँदमा नेपाल ल्याउने गरी बर्खामा ८ सय २९ गिगावाट आवर उर्जा भारतमा ‘इनर्जी बैंकिङ’ का लागि पठाउने योजना बनाएको छ । हाल नेपालले भारतबाट ४ सय मेगावाट विद्युत आयात गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्