लिखु जलविद्युत आयोजनाको दादागिरीः रामेछापको लिखु तामाकोसी गाउँपालिकावासीको रुवावासी



पुस २४, रामेछाप ।

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–४ बिजुलीकोट बोक्सेमा विद्युत उत्पादन गर्ने गरी निर्माणाधिन तल्लो लिखु जलविद्युत आयोजनाले स्थानीयलाई बेवास्ता गर्दै काम आगाडि बढाएपछि स्थानीय विस्थापित हुने अवस्था सृजना भएको छ ।
श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले निर्माण गरिरहेको २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजनाले लिखुतामाकोशी गाउँपालिका–२ सैपुमा ड्यामको काम गरी रहेको छ । आयोजनाले काम सुरु गर्दा आइईइ. प्रतिबेदन नै आफूहरुलाई नदेखाई स्थानीयलाई पेलेर अगाडी खोजेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

झुट्टो आश्वासको खेती गर्दै जलविद्युत आयोजना
अतिप्रभावित र प्रभावित क्षेत्रको स्थानीयले पटक–पटक माग पत्र पेश गरि नियमसंगत ढंगले काम गर्न ध्यानाकर्षण गराउँदा आयोजनाले बेवास्ता गरेको स्थानीयको गुनासो छ । हामीले पटक–पटक स्थानीयको समस्यालाई सुनुवाई गर्न आग्रह ग¥यौ, हुन्छ हुन्छ भन्दै आसवासन दिँदै काम अगाडी बढाइएको छ, स्थानीय केशब पौडेलले बताए । उनले भने, गाउँका सोझसाझ स्थानीयलाई आँखामा छारो हालेर आयोजना अगाडी बढीरहेको छ, हाम्रो केही कुरा सुन्दैनन्, हामीले पटक–पटक सम्बन्धित निकायको ध्यानकर्षण ग¥यो स्थानीय तह बाहेक कसैले सुनेन् ।’ उनले विकास विरोधी नभएपछि स्थानीयको जाजय माग सुन्नु पर्ने बताए ।

हाइड्रोपावरकै कारण विद्यालय नै जोखिममा
निर्माणाधिन हाइड्रोपावरको ड्याम निर्माणस्थलसँगै अरुणोदय माध्यमिक विद्यालय नै जोखिममा परेको छ । ड्याम निर्माणको लागि आयोजनाले विद्यालयको पछाडी पट्टीको भाग खारिरहेको र त्यसले विद्यालयलाई नै जोखिम बनाएको शिक्षक गंगाबहादुर कार्कीले बताए । विद्यालयलाई क्षति पुग्ने भएपछि आफूहरुले समाधानको बाटो खोज्न विद्यालय व्यवस्थापन समितिको निर्णय सहित पटक–पटक आग्रह गर्दा समेत आफूहरुको मागलाई बेवास्ता गरेको प्रधानाध्यापक शन्तोष पौडेलले बताए ।
त्यस्तै विद्यालय समयभित्र मनलाग्दी ढंगले ब्लाष्टिङ्ग विस्फोट गराउँदा र क्रसर मेशिन लगायतका ठूला–ठूला मेशिन सञ्चालन गरिदा पठनपाठनमा समेत ठूलो असर पुगेको विद्यार्थी शुवास भुजेलले बताए । उनले भने,‘विकास निर्माणको नाममा हाम्रो त पढाइ नै प्रभावित भइरहेको छ, हाम्रो गुनासो कसले सुनिदेला ।’

आयोजनाको जालसाँजीले स्थानीयको रुवाबासी
लिखुतामाकोशी गाउँपालिका–४ की डिल्लीमाया तामाङले आयोजनाको सुरक्षाको लागि नेपाली सेनाको क्याम्प स्थापना गर्न जग्गा दिइन् । तामाङले आयोजनालाई जग्गा उपलब्ध गराइदिए वापत घर बनाईदिने साथै उनको श्रीमान र छोरालाई आयोजनामै रोजगारी दिने सहमति थियो । आयोजनाको सुरक्षामा खटिएका नेपाली सेना बस्नको लागि निर्माण गरिएका घरहरु पनि आयोजना सम्पन्न भएपछि डिल्लीमायालाई नै छोडिदिने समेत आश्वासन दिएको थियो । तर, अहिले आयोजनाले आफूलाई जवर्जस्ती १० लाख रुपैयाँ ऋण लिन लगाएको तामाङले बताइन् ।

उनले रुदै भनिन्,‘ निरब्याजी भनेर १० लाख रुपैयाँ ऋण लिन बाध्य बनायो, ऋण स्वीकृत गर्ने नाउँमा झुक्याएर नेपाली सेनाको क्याम्प राख्न दिएको खेत दृष्टिबन्धक गरिदियो, १० लाख रुपैयाँ ऋण लिन जिल्ला मालपोत कार्यालय मन्थलीमा लगेर दृष्टिबन्धक पत्रमा ल्याप्चे चिच्न लगाएछन् पछि मात्रै थाहा भयो ।’ अहिले घरमा बिहान बेलुकाको छाक टार्न समेत समस्या भएपछि आफ्नो परिवार चालाउनको लागि गाउँ छाडेर शहरतिर भाँडा माझ्ने काम खोज्ने सुरसारमा आफू भएको डिल्लीमायाले बताइन् ।

अनुमति नलिइकन काम
सुरुङ मार्ग रोल्फू सामुदायिक बनमा पर्ने भएपनि आफूहरु सँग अनुमति नलिइ काम अगाडी बढाइएका रोल्फु सामुदायिक वन उभोक्ता समितिका उपाअध्यक्ष केशरबहादुर महतले बताए । उनले रोल्फु सामुदायिक बन उपभोक्ता समितिको अध्यक्ष टिका कार्कीलाई आयोजनाले प्रभावमा परेर उपभोक्ता समितिको निर्णयविना सिफारिस लिएको पाईको र उक्त सिफारिस उपभोक्ता भेलाले रद्द गरिदिएको बताए ।

सरकारसँग समन्वय नगरी बलमिच्याइँ
स्थानीय सरकारसँग समेत समन्वय नगरी काम गरिरहेको गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्काले बताए । जलविद्युत आयोजना निर्माणको नाममा नदीजन्य बस्तुको अवैध दोहन समेत गरे पछि आफूले बाँध्य भएर क्रसर बन्दा गरिदिएको अध्यक्ष खड्काले बताए । आयोजना निर्माणको लागि लिखु खोलाबाट करोडौं मूल्य पर्ने नदीजन्य बस्तु उत्खनन गरेवापत राज्यलाई बुझाउनु पर्ने कर समेत नबुझाएको अध्यक्ष खड्काको भनाई छ । आयोजनाले स्थानीयको समस्यालाई ध्यानमा राखेर उनीहरुको मागलाई संवोधन नगरे सम्म काम संचान हुन नदिने चेतावानी समेत खड्काले दिएका छन् ।

यति माग पनि पुरा गर्न सकेन आयोजनाले
हाइड्रोपावरले आयोजना निर्माण कार्य सुरु हुनु पहिले निर्माण क्षेत्रमा पर्ने जग्गा धनीलाई एक घर एक रोजगार दिने, स्वास्थ संस्था स्थापना गरिदिने, बोर्डिङ्ग स्कूल स्थापना गरि सञ्चालन गरिदिने र आयोजना निर्माणको क्रममा क्षति पुगेको संरचनाको पुनःनिर्माण गरिदिने आश्वासन दिएको थियो । तर, अहिले आयोजनाले यी कुनै पनि काम गरेको छैन् । आयोजनाले स्थानीयबासीसँग सम्झौता गरेको बाचा पुरा गरे आफूहरुले परियोजना निर्माणमा सहयोग गर्ने स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्