जिल्ला अस्पताल रामेछापलाई सुविधा सम्पन्न बनाएर देखाउछुः मन्त्री ढुंगेल



राजन महतारा क्षेत्री
२४ पुस, रामेछाप । प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जिल्ला अस्पताल रामेछाप सुविधा सम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले जिल्ला अस्पतालाई विशषेज्ञ चिकित्सक, औषधी, उपकरण र यन्त्रको व्यवस्थापन गरेर सुविधा सम्पन्न बनाउने बताउनुभएको हो ।

रामेछाप नगरपालिका–८ रामेछापमा रहेको अस्पताल पुननिर्माणको अवस्था र नयाँ भवनहरु बन्ने स्थानको अनुगमन गर्दै मन्त्री ढुंगेलले जिल्ला अस्पताल रामेछाप जिल्लाकै एक मात्र स्वास्थ्य क्षेत्रको गहना रहेको बताउदै चिकित्सक र आवश्यक उपकरणको अभावकै कारण बिरामीहरुले सुविधा पाउन नसक्दा आफूलाई दुःख लागेको बताउनुभयो ।

नेकपाका महासचिव पुष्पपाल श्रेष्ठ जन्मेको ठाउँमा रहेको अस्पतालको अवस्था नाजुक हुनु दुखको कुरा भएको बताउँदै उहाँले आफु स्वास्थ्य मन्त्री नभएपनि जिल्लाको अस्पतालका लागि काम गेरर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । अब अस्पताल विकासको काम दु्रत गतिमा अगाडी बढ्छ, उहाँले भन्नुभयो । रामेछाप जिल्ला पानीमा आत्मनिर्भर जिल्ला भएको बताउँदै अब जिल्लाको पानीलाई प्रयोग गरि प्रदेश सरकारले जलविद्युत उत्पादन मार्फत रामेछापेवासीको जीवनस्तरमा सुधार ल्याउने दावी गर्नुभयो ।

जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रीनले भुकम्पमा क्षति भएको जिल्ला अस्पताल पुननिर्माण जर्मन कम्पनी केएस डब्लुको आर्थिक सहयोगमा निर्माण हुन लागेको जानकारी गराउनुभएको छ । अस्पताल पुननिर्माणको लागि भवन बनाउने जग्गा सम्याउने काम भइरहको बताउदै अब बन्ने नयाँ भवन सुविधा सम्पन्न र हेलिप्याड सहित रहने बताउनुभयो । उहाँका अनुसार भवन निर्माण भइसकेपछि विभिन्न रोगहरुको उपचार र शल्यक्रिया विशेषज्ञ चिकित्सकहरुबाट जिल्ला अस्पतालबाटै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्