बेथानको जोरधारामा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन



२४ पुस, रामेछाप ।
सुनापती गाउँपालिका–४ बेथानस्थित जोरधारामा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आएको छ । गाउँपालिकाले निर्माण गरेको सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आएको हो । सुनापती–४ बेथानमा रहेको स्वास्थ्य चौकी टाढा भएकाले डहुका बासिन्दालाई सहज रुपमा प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यको साथ गाउँपालिकाले स्वास्थ्य इकाई सञ्चालनमा ल्याएको छ ।


नवनिर्मित सामुदायिक भवनको उदघाटन गर्दै सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले गाउँपालिकाभित्र सबै नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा लागेको बताउनुभयो । उहाँले सवै वडामा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आएको बताउदै आगामी दिनमा प्रभावकारी रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रममा सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने उदेश्यको साथ सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याइएको बताउनुभयो । जोरधारामा स्वास्थ्य इकाई सञ्चालनमा आएपछि सामान्य बिरामी पर्दा पनि उपचारको लागि बेथानसम्म जाने बाँध्यता हटेको भन्दै डहुवासी खुसी भएका छन् ।


उक्त कार्यक्रममा सुनापती गाउँपालिका–४ बेथानका वडा अध्यक्ष खड्ग घिसिङले वडावासीलाई सहज रुपमा सेवा प्रदान गर्नको लागि आफू लागि परेको बताउनुभयो । वडा नम्बर ४ अन्तर्गत स्वास्थ्य चौकी बेथान, सामुदायिक स्वास्थ्य इकाई जोरधारा डहु र च्यारिटी अस्पताल भ्वासाँबाट सेवा प्रवाह हुने भएको छ ।

सामुदायिक स्वास्थ्य इकाईबाट सरकारले उपलब्ध गराउने औषधी निशुल्क पाउनुको साथै प्राथमिक उपचार समेत हुने सुनापती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रवल योञ्जनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्