गोकुलगंगा गाउँपालिकामा जेष्ठ नागरिक र अपाङ्गलाई घरमै नागरिकता



रामचन्द्र वि.क.
२८ पुस,रामेछाप  ।
रामेछापको गोकुलगंगा गाउपालिकाका सर्वसाधारणलाई लक्षित गरी संचालन गरिएको एकीकृत घुम्ती शिविर मार्फत ३ सय ४ जना नागरिकहरुले नागरिकता लिएका छन् । गाउँपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वयमा भएको दुई दिने शिविरमा गाउँपालिकाका नागरिकहरुले नागरिकता लिएका हुन् ।
विभिन्न कारणले नागरिकता लिन नसकेका तथा सदरमुकाम सम्म आउन नसकेका सर्वसाधारणलाई लक्षित गरी एकीकृत घुम्ती शिविर मार्फत नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिए ।


त्यस्तै शिविरमा ३ सय ३३ जनाले फोटो सहितको मतदाता नामवालीमा नामा दर्ता गराएका छन् । गाउँपालिका भित्रका ३१ जनाले उद्योग र २५ जनाले व्यवसायिक फार्म दर्ता गरएका छन् । गोकुलगंगा गाउपालिकाको वडा नम्बर ३ को कार्यालय रस्नालुबाट प्रबाह गरिएको सेवामा वडा नं. १ देखि वडा नम्बर ६ सम्मका स्थानीयको सहभागीता रहेको गोकुलगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिब कुमार राइले जानकारी दिए ।
पालिकाको केन्द्रबाट टाढा रहेका वडाबाट शिविरसम्म आउन नसक्ने जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई गाउँपालिका कै खर्चमा गाडीमा ल्याएर नागरिकता बनाइदिएको प्रमुख प्रशासकीय अधिकृत राइले बताए ।
गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले आगामी दिनमा पनि घुम्ती शिविर मार्फत नागरिकता वितरण गर्ने कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्