खाँडादेवी गाउँपालिकाभित्र अनियमितता र भ्रष्टाचार छैनः अध्यक्ष तामाङ



२८ पुस, रामेछाप ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुरतामाङले गाउँपालिकाभित्र आरोप लगाएकोजस्तो कुनै पनि कुनै पनि प्रकारको भ्रष्टाचार र अनियमितता नभएको बताउनुभएको छ ।
नेपाली कांग्रेस खाँडादेवीले गाउँपालिकाभित्र अनियमितता र भ्रष्टचार भएको भन्दै बुझाएको ध्यानाकर्षणपत्र बुझदै उहाँले पालिकाभित्र कुनै पनि योजनामा केही कमजोरी नगरेको बताउनुभएको हो । अध्यक्ष तामाङले भन्नुभयो,‘सबै विधि र प्रक्रिया अनुसार भएको छ, कुनै पनि काम नियम कानुन विपरीत हुन दिएको छैन ।’
प्रमुख तामाङले गाउँपालिकाभित्र भइरहेका विकास निर्माण देखि लिएर हरेक गतिविधिको बारेमा बुझ्न चाहेमा सबै सूचना दिन आफू तयार रहेको बताउनुभयो । विकास निर्माणका काम सबै पारदर्शी छ, हरेक कामको बारेमा जान्न चाहेको अवस्थामा हामी दिन तयार छौ, कुनै पनि भ्रममा पर्न आवश्यक छैन, उहाँले भन्नुभयो ।
प्रतिपक्षको नाताले विकास निर्माणमा ध्यानाकर्षण पत्र बुझाउनुलाई आफूले सकारात्मक रुपमा लिएको र ध्यानाकर्षण पत्रले आफूलाई सचेत गरएको अध्यक्ष तामाङले बताउनुभयो ।

विकास निर्माणमा भ्रष्टचार भएको कांग्रेसको आरोप
खाँडादेवीले गाउँपालिकामा विकास निर्माणमा अनियमितता भएको आरोप लगाउदै नेपाली कांग्रेसले गाउँपालिका प्रमुखलाई ध्यानाकर्षणपत्र बुझाएको छ । जनप्रतिनिधिहरुले स्थानीयको चहाना विपरीत मनोमानी ढंगले एकलौटी योजनाहरु बनाएको भन्दै शुक्रबार नेपाली काग्रेसका नेता वेदराज लामाको नेतृत्वमा गएको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।


जनप्रतिनिधि निर्वाचित भएर आएको २० महिना भइसक्दा पनि गाउँपालिकामा भएको विकास निर्माण तथा पूर्वाधारमा विकास हुनुको सट्टा अनियमितता भएको, भ्रष्टाचार बढेको, आर्थिक प्रलोभनमा परी आफूखुशी योजना बाँडफाँट गर्नुका साथै वडाहरुमा समावेशी ढंगले योजना नगरेको वडाकै जनप्रतिनिधिहरुले विरोध जनाएकोले लगायतको विषय समावेश गरेर ध्यानाकर्षणपत्र बुझाएको छ ।
नेपाली कांगेसका तर्फबाट स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका अध्यक्ष वेदराज लामा, उपाध्यक्ष मिना श्रेष्ठसहितका ११ जनाले हस्ताक्षर गरिएको ध्यानाकर्षणपत्र गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङलाई बुझाइएको छ । ध्यानाकर्षण सँगै गाउँपालिकाको आर्थिक वर्ष २०७४÷०७५ र अर्थिक वर्ष २०७५÷७६ को विवरण समेत माग गरेको छ । अध्यक्ष तामाङले सकारात्मक सल्लाह सुझावको आशा र अपेक्षा गरेको बताउदै सबै प्रकारका विकास निर्माणको बारेमा सूचना र जानकारी दिनको लागि गाउँपालिकाका तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्