रामेछापको मुख्य सडक कालोपत्रे हुन्छः सांसद श्रेष्ठ



३० पुस, रामेछाप ।
रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले नेकपा नेतृत्वको सरकारले नै रामेछापलाई समृद्ध बनाउने बताउनुभएको छ । उहाँले सरकारले अगाडि सारेको नीति तथा कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताउदै समृद्धिको सपना साकार पार्न सरकार प्रतिबद्ध भएर लागेको बताउनुभएको हो । सांसद श्रेष्ठले भन्नुभयो,‘रेल पनि आउछ, पानी जहाज पनि चल्छ, पाइपलाइनबाट तेल पनि आउछ ।’


रामेछाप जिल्लाको विकास निर्माणको प्रक्रियालाई अगाडि बढाउन आफू लागि परेको बताउदै निर्वाचनमा गरेको प्रतिबद्धता अनुसारको काम हुने दावी गर्नुभयो । उहाँले जिल्लाका मुख्य सडकलाई कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढेको बताउदै, स्वास्थ्य शिक्षा, खानेपानी लगायतको जनताको दैनिक जीवनसँग जोडिएको विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।


मन्थली नगरपालिका–११ गेलुको सावाडाँडामा निर्माण भएको शारदा माविको चार कोठे पक्की भवनको उदघाटन गर्दै सांसद श्रेष्ठले विद्यालयको भौतिक संरचना निर्माणसँगै शिक्षाको गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पूर्व सभासद एवं नेकपाका नेता तारानारायण श्रेष्ठले शिक्षा क्षेत्रमा राज्यले थप लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले भौतिक पूर्वाधारको उपलब्धतासँगै गुणस्तरीय शिक्षा प्रदान गर्न पनि आवश्यक रहेको बताउनुभयो ।


उक्त कार्यक्रममा मन्थली नगरपालिकाका उप्रप्रमुख माया कार्कीले शिक्षा क्षेत्रको विकासको लागि नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले भन्नुभयो,‘गुणस्तरीय र प्राविधिक शिक्षालाई हामीले जोड दिएका छौ ।’
कार्यक्रममा नेकपा रामेछापका नेता प्रकाश कुमार कार्कीले प्राविधिक शिक्षा नै आवश्यकता भएको बताउदै सरोकारवाला निकाय सबै मिलेर शिक्षा क्षेत्रलाई राम्रो बताउनुपर्ने बताउनुभयो ।

जिल्ला आयोजना कार्यान्वय इकाई (शिक्षा) रामेछापका प्रमुख हेमन्त बुढाथोकीले ८८ लाख रुपैयाँमा छ कोठे पक्की भवन निर्माण भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्