लखनपुरकाे मकर खोलामा निस्कियो अनौठो दहीजस्तो लेदो 



३० पुस, रामेछाप ।
रामेछापको दोरम्बा गाउँपालिका–६ लखनपुरस्थित मकर खोलाकाे गुजेलमा जमिन फुटेर दहीजस्तो लेदो निस्किएपछि हेर्नको भीड बढेको छ । यहाँ हरेक बर्ष पौष मसान्तमा जमिन फुटेर दही जस्तो सेतो लेदो निस्कने गरेको छ । यस बर्ष पनि सेतो लेदो निस्किएको छ ।

स्थानीयले बर्षको एक पटक यो अनौठो प्रकारको लेदो हेर्न पाउने गरेका छन् । स्थानीयले उक्त लेदोलाई मकर फुलेको भन्ने गरेका छन् । २०७० साल देखि नै बर्षेनी यस स्थानमा जमिन फुटेर दहीजस्तो लेदो निस्किने गरेको छ । बाह्रै महिना उम्रने रातो रङ्गको पानी पनि यस नजिकै रहेको छ । । चम्किलो सेतो अनौठो र निश्चित मितिमा मात्र देखापर्नु अझै रहस्यमय रहेको भन्दै स्थानीयले अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन् ।

जमिनबाट दहीजस्तो लेदो निस्किन्छः वडा अध्यक्ष गजुरेल
रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–६ का वडा अध्यक्ष अम्बिका प्रसाद गजुरेल ‘अनुप’ले गाउँपालिका–६ जागुमा प्रत्येक बर्षमा जमिन मुनिबाट यसरी दही जस्तो लेदो पदार्थ निस्कने गरेको बताउनुभयो । जसलाई धार्मिक संस्कार अनुरुप मकर निक्लिएको भनिन्छ र उक्त स्थानमा आई स्नान गरि मकरको टीका लगाईन्छ ।यसो गर्दा पुण्य मिल्ने जनविश्वास रही आएको छ । यस बर्ष पनि खोलामा मकर फुलेको वडा अध्यक्ष गजुरेलले रामेछाप न्युजलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्