कालिका नमूना माविलाई हर क्षेत्रमा नमूना बनाएर देखाउनुहोसः मन्त्री पोखरेल



२ माघ, रामेछाप ।
शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक बिद्यालयका शिक्षकहरुले आफ्ना बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा नपढाएसम्म शिक्षामा गुणस्तर नआउने बताउनुभएको छ । उहाँले शिक्षा क्षेत्रको सुधार गर्नको लागि सबै पक्ष एकताबद्ध भएर लाग्नु पर्ने बताउनुभएको हो ।

रामेछापको दोरम्बा गाउँपालिका–६ लखनपुरको नवनिर्मित कालिका नमूना माविको बुधवार उदघाटन गर्दै शिक्षा मन्त्री पोखरेलले सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरुले आफ्ना छोरोछारीलाई निजी विद्यालयमा पढाउने गरेकाले सर्वसाधरणका बालबालिकाको शिक्षामा विशेष ध्यान नदिँदा शिक्षामा गुणस्तर नआएको बताउनुभयो । शिक्षाको बिकास बिना समृद्ध नेपाल सम्भव नभएकाले शिक्षाको विकासमा सबै लाग्नु पर्ने बताउदै गुणस्तरीय शिक्षा नै आजको आवश्यकता भएकोमा जोड दिनुभयो ।


शिक्षा मन्त्री पोखरेले भन्नुभयो,‘विद्यालयको भौतिक संरचना निर्माण भएको छ, अब गुणस्तरीय शिक्षा प्रदान गर्ने काम विद्यालयको हो, कालिका माविलाई हर क्षेत्रमा नमूना बनाएर देखाउनुहोला ।’ विद्यालयलाई वातावरणमैत्री, छात्रामैत्री, वैज्ञानिकमैत्री बनाउनु पर्नेमा जोड दिदै शिक्षा क्षेत्रको विकासको लागि स्थानीय सरकारले अगाडि सारका नीति तथा कार्यक्रम अनुसार अगाडि बढन आग्रह गर्नुभयो ।
कार्यक्रममा रामेछापका प्रतिनिधिसभा सांसद श्यामकुमार श्रेष्ठले शिक्षा क्षेत्रमा भौतिक पूर्वाधार निर्माणको कामसँगै गुणस्तरीयतामा पनि ध्यान दिनु पर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘आजको युग सुहाउदो प्रविधिमैत्री शिक्षा प्रदान गरेर मात्र समाजलाई रुपान्तरण गर्न सकिन्छ ।’


कार्यक्रममा दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले शिक्षा क्षेत्रको विकास गर्न गाउँपालिकाले उच्च प्राथमिकता दिएको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको रुपान्तरण गर्नको लागि नीति तथा कार्यक्रम बढाएर नै अगाडि बढेको बताउनुभयो ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)का प्रमुख हेमन्त कुमार बुढाथोकी समयमा नै विद्यालय भवन पुनिर्माणको काम सम्पनन् गरेको भन्दै निर्माण गर्ने खानी निर्माण सेवालाई धन्यवाद दिनुभयो । उहाँले विद्यालयमा भौतिक संरचना निर्माणसँग गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय लाग्नु पर्नेमा जोड दिदै भौतिक संरचनाजस्तै गुणस्तरीय शिक्षा मार्फत विद्यायले आगामी दिनमा गुणस्तरीयतामा पनि नमूना बनाएर देखाउनु पर्ने बताउनुभयो ।


उक्त कार्यक्रममा विद्यालयका प्रअ विष्णु प्रसाद गौतमले नमूना विद्यालयलाई आगामी दिनमा हर कुरामा नमूनाकै रुपमा विकास गरेर लैजाने विद्यालयको योजना रहेको बताउनुभयो । कार्यक्रममा खानी निर्माण सेवाका सञ्चालक रत्न गौतमले समयमा नै विद्यालय निर्माण गरेर हस्तान्तरण गर्न पाउदा निकै खुसी लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘विद्यालय भवन समयमा नै निर्माण भएको छ, अब सबै मिलर नमूना विद्यालयलाई आगामी दिनमा प्राविधिक शिक्षा सञ्चालन गरेर नमूना बनाएर देखाउनु पर्छ ।’ करिब ९ करोडमा एडिबएिको सहयोगमा लुम्बिनी÷खानी जेभी सम्झौता मिति भन्दा एक महिना पाँच वटा भवन निर्माण गरेको हो । विद्यालयको डिजाइन र सुपरभिजन इआएमसी कम्पनीले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्