बढ्यो भिमेश्वर माविको सान, निर्माण र डिजाइन कम्पनीलाई सम्मान



३ माघ, रामेछाप ।
तीन बर्ष अघि आएको विनाशकारी भुकम्पले दोरम्बा गाउँपालिका–७ लखनपुरस्थित थापागाउँमा रहेको भिमेश्वर माविको विद्यालय भवन भत्कियो । स्थानीयलाई चिन्ता थपियो, अब विद्यालय भवन कसरी बनाउने ? स्थानीयले सुविधा सम्पन्न विद्यालय भवन बनाउने योजना र सपना त देखे तर स्रोत र साधनको कुनै टुंगो थिएन ।

भिमेश्वर माविलाई विपत बनेर आएको विनाशकारी भुकम्प तीन बर्षपछि आएर अवसरको रुपमा परिणत भएको छ । एसियाली विकास बैंकले विद्यालय भवन निर्माण गर्ने भएपछि स्थानीयलाई जग्गा जुटाउने निकै चटारो पर्यो ।

इच्छा भए उपाय कति कति भनेझैं स्थानीयवासीको सक्रियताले नै विद्यालय भवन निर्माण गर्न स्थानीयले आर्थिक सहयोग अभियान सञ्चालन गरेर १६ लाख रुपैयाँ जुटाउन सफल भए । विद्यालय भवन निर्माण गर्नको लागि आर्थिक संकलनबाट जम्मा भएको पैसाले दस रोपनी जग्गा खरिद गरेपछि विद्यालय भवन निर्माणको प्रक्रिया अगाडि बढेको थियो ।


दोरम्बा गाउँपालिका–७ लखनपुरका वडा अध्यक्ष रेम थापा मगर भुकम्पले भत्काएको भिमेरश्वर माविको स्वरुप फेरिएकोमा निकै खुसी लागेको बताउनुहुन्छ । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘विद्यालयको भौतिक संरचना निकै राम्रो बनेको छ, अब गुणस्तरीय शिक्षामा ध्यान दिन्छौ ।’

विद्यालय भवन जागिर खान मात्र होइनः मन्त्री पोखरेल
शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणि पाेख्रेलले विद्यालयको नवनिर्मित भवनको उदघाटन गर्दै गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘विद्यालय भवन जागिर खानको लागि मात्र होइन, गुणस्तरीय र दक्ष जनशक्ति उत्पादन गर्नको लागि हो ।’ उहाँले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । ‘नयाँ भवन निर्माणसँग नयाँ जोश र जाँगरको साथ गुणस्तरीय शिक्षा प्रदान गर्न लाग्नुहोस’, शिक्षामन्त्री पोखरेले भन्नुभयो ।

निर्माण कम्पनीलाई सम्मान
एसियाली विकास बैंकको सहयोगमा निर्माण भएको भिमेश्वर माविको भवन सम्झौता अवधि भन्दा तीन महिना अघि नै सम्पन्न गरेको भन्दै खानी निर्माण सेवालाई सम्मान गरिएको छ । विद्यालयमा आयोजित कार्यक्रममा शिक्षा मन्त्री पोखरेलले खानी निर्माण सेवाका सञ्चालक रत्न गौतमलाई सम्मान गर्नुभएको हो । त्यसैगरी खानी निर्माण सेवा अन्तर्गत रहेर काम गर्ने प्रतिनिधि अम्बर लामा सहितका अन्य व्यक्तिहरुलाई पनि सम्मान गरिएको छ ।

विद्यालय जग्गा खरिद गर्न सहयोग गर्नेलाई सम्मान
विद्यालय भवन निर्माणको लागि जग्गा खरिद गर्ने क्रममा सहयोग गर्ने दाताहरुलाई विद्यालयले सम्मान गरेको छ । पाँच हजार भन्दा माथि आर्थिक सहयोग गर्ने दाताहरुलाई विद्यालयले प्रशंसापत्र सहित सम्मान गरेको हो । विद्यालयले तीन जना भन्दा बढी दाताहरुलाई सम्मान गरेको छ ।

डिजाइन र सुपरभिजन गर्ने कम्पनीलाई सम्मान
विद्यालय भवनको डिजाइन र सुपरभिन गर्ने इन्भारोमेन्ट एण्ड रिसोर्स मेनेज्मेन्ट कन्सल्टेन्ट (इआएरएमसी) कम्पनीलाई पनि सम्मान गरिएको छ । विद्यालयले भवनको डिजाइन र समयमा नै काम सम्पन्न गर्न प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै इआएरएमसी कम्पनीलाई सम्मान गरेको हो । विद्यालय भवनको सुपरभिजनमा खटिनु भएका इआएरएमसीका प्रतिनिधिलाई शिक्षामन्त्री पोखरेलले सम्मान गर्नुभएको हो । इआरएमसीका सञ्चालक उद्धवराज चौलागाईले समयमा नै विद्यालय भवन निर्माण गर्न सकेकोमा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो,‘विद्यालय भवनको डिजाइन र सुपरभिजनको काम मार्फत सम्झौता अवधि भन्दा तीन महनिा अघि नै भवन हस्तान्तरण गर्न सफल भएका छौ ।’ उहाँले रामेछापमा एडिबीद्धारा निर्माण भएको विद्यालय भवनहरुको डिजाइन र सुपरभिजनको काम आफ्नो कम्पनीले गरिरहेको बताउनुभयो ।

६ करोड ५५ लाखमा तीन वटा भवन
एडिबीको सहयोगमा निर्माण भएको तीन वटा भवनमा २० वटा कोठा रहेको छ । नवनिर्मित भवन अपाङगमैत्री, बालमैत्री, छात्रामैत्री रहेको छ । हाल विद्यालयमा करिब तीन सय जना विद्यार्थी अध्ययनरत छन् । भ्याट बाहेक ६ करोड ५५ लाख लगानीमा विद्यालय भवन निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्