बेथानको स्वास्थ्य चौकीलाई अस्पताल सरहको सुविधा उपलब्ध गराउछुः मन्त्री दुलाल



४ माघ, रामेछाप ।
प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले बेथानको स्वास्थ्य चौकीलाई अस्पताल सरह सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले स्वास्थ्य सेवालाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताउदै भौतिक संरचनाले सम्पन्न बेथानको स्वास्थ्य चौकीलाई अस्पताल सहर सेवा उपलब्ध गराउने बताउनुभएको हो ।


सुनापती गाउँपालिका–४ बेथानको पिपलडाँडामा निर्माण भएको स्वास्थ्य चौकी भवनको उदघाटन गर्दै मन्त्री दुलाले विशेषज्ञ सहितको सेवा सुविधा उपलब्ध गराउने बताउनुभयो । उहाँले भन्नुभयो,‘स्वास्थ्य चौकीमा एक्सरे मेसिन, ल्याब लगायतको सुविधा उपलब्ध गराउन आर्थिक पक्षमा प्रदेश सरकारले ध्यान दिन्छ ।’
मन्त्री दुलाले गाउँपालिकाभित्र पचास रोपनी जग्गा प्राप्त भएको अवस्थामा यसै बर्षबाट प्रदेश सरकारले कार्यक्रममा समावेश गरेर पूर्वाधार निर्माणको काम अगाडि बढाउन पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्व सभासद डिल्लीमान तामाङले भौतिक रुपमा सम्पन्न स्वास्थ्य चौकीलाई आगामी दिनमा स्तरवृद्धि गर्न आफूले भूमिका खेल्ने बताउनुभयो । स्वास्थ्य चौकी निर्माण गर्नको लागि आफूले भूमिका खेलेको बताउदै तीन तहको सरकारले स्वास्थ्य चौकीको व्यवस्थापन र सञ्चालनमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले आफ्नो पहलमा स्वास्थ्य चौकी निर्माण गर्न सफल भएको बताउदै सञ्चालन र व्यवस्थापनमा पनि गाउँपालिकाले विशेष ध्यान दिएको बताउनुभयो । अध्यक्ष लामाले भन्नुभयो,‘सबै नागरिकहरुलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य सेवा इकाई सञ्चालन गरेका छौ, गाउँपालिकाभित्र भौतिक संरचनाले सम्पन्न स्वास्थ्य चौकीबाट न्युनतम सुविधा उपलब्ध गराउने कार्यमा लाग्छौ ।’

डाक्टर सहितको सुविधा दिन बेथानवासीको माग
सुनापती गाउँपालिकाको बेथान वडामा मात्र ७३ सय जनासंख्या रहेको छ । भौगोलिक दृष्टिकोणले ठूलो वडा रहेको एक साता अघि मात्र डहुको जोरधारामा स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको छ । स्थानीयले कम्तिमा पनि एक जना एमबिविएस सहितको डाक्टर सहितको सेवा उपलब्ध गराइदिन मन्त्री दुलालसँग माग गरेका छन् ।

 

दुई बर्ष निर्माण सम्पन्न भएर पनि स्वास्थ्य चौकी सञ्चालनमा आउन सकेको थिए । गाउँपालिकाभित्र भौतिक संरचनको दृष्टिकोणले वडा नम्बर १ को गुन्सी र बेथानको स्वास्थ्य चौकी नै हो । बेथानवासीले बिरामी पर्दा रगत, दिशा पिसाब, खकार जाँच गर्ने ल्याब, एक्सरे मेसिनको व्यवस्था गर्न पनि मन्त्रीलाई विशेष माग गरेका छन् । बेथानको स्वास्थ्य चौकीबाट हाल २४ सै घण्टै प्रसुती सेवा प्रदान हुँदै आएको छ ।

२ करोड ३१ लाखमा बन्यो स्वास्थ्य चौकी
बेथानको पिपलडाँमा २ करोड ३१ लाख रुपैयाँ लागतमा निर्माण भएको स्वास्थ्य चौकी पाँच रोपनी क्षेत्रफलमा फैलिएको छ । दुई तले स्वास्थ्य चौकीमा ३२ वटा कोठा रहेका छन् ।शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय मार्फत भवन निर्माण भएको हो । स्वास्थ्य चौकीमा विशेषज्ञ सहितको सेवा प्रवाह भए गाउँपालिको बेथान, खनियापानी, हिलेदेवी, दिमिपोखरी वडाका बासिन्दालाई प्रत्येक्ष सेवा पुग्नेछ ।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता समेत रहेका सुनापती–२ का वडा अध्यक्ष कमल केसी, सुनापती गाउँपालिका–४ बेथानका वडा अध्यक्ष खड्ग बहादुर घिसिङ, वडा नम्बर ३ हिलेदेवीका वडा अध्यक्ष बाबुराम तामाङ, वडा नम्बर ५ खनियापानीका वडा अध्यक्ष ठूलोकान्छा तामाङ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, स्वास्थ्य शाखाका प्रमुख प्रवल योञ्जन लगायतको सहभागीता रहेको थियो ।
उक्त कार्यक्रममा नेकपा तीन नम्बर प्रदेश कमिटीका सदस्य, टंकलाल घिसिङ, नेकपाका जिल्ला नेता रामकृष्ण लामा, सुमन लामा, गोविन्द घिमिरे, स्थानीय समाजसेवी बिबी तामाङ, राज मैनाली लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्