रामेछाप–सिन्धुली जोडने खैरेनीघाट पुल निर्माण धमाधम



५ माघ, रामेछाप ।
दस वर्ष अघि निर्माण कार्य सुरु गरिएको रामेछाप–सिन्धुली जोडने सुनकोसीस्थित खैरेनीघाट पुल निर्माणको काम धमाधम सुरु भएको छ । ठेकेदार कम्पनीले चार वटै पिलर निर्माण सम्पन्न गरेर हाल बीचको भागमा रहने ट्रष्ट जडानको कामलाई अगाडि बढाएको हो ।


दस बर्ष अघि सुरु भएको पुल निर्माणको जिम्मेवारी पाएको लामा खम्पाचे कन्काई जेभीको ढिलासुस्तीको कारण अलपत्र पर्दै आएको थियो । स्थानीय तहका जनप्रतिनिधि र स्थानीयले समयमा नै पुल निर्माण गर्न दबाब दिएपछि यस आर्थिक बर्षभित्र नै पुल निर्माण सम्पन्न गर्ने काम अगाडि बढेको कन्काई निर्माण सेवाका सञ्चालक राम मैनालीले रामेछाप न्युजलाई बताए ।

उनले भने,‘पुल निर्माण अन्तर्गत ट्रष्ट जडान गर्ने काम धमाधम भइरहेको छ, आगामी वैशाकसम्म ट्रष्टको काम सक्छौं ।’ पुल निर्माण कार्य अन्तर्गत हाल सुनकोसी नदीभित्र ट्रष्ट जडान गर्ने काम भइरहेको छ । स्थानीय जनप्रतिनिधिहरुले निरन्तर रुपमा पुल निर्माणको कामको खबरदारी गरिरहेका छन् ।

खाडाँदेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु श्रेष्ठले पुल निर्माणको काम आशा लाग्दो ढंगले अगाडि बढेको बताए । उनका अनुसार ठेकेदार कम्पनीले पुल निर्माणको लागि आवश्यक स्टीलका सामाग्रीहरु पुल निर्माणस्थलमा ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्