स्वदेश तथा विदेशमा पसिना चुहाएर दोरम्बा गाउँपालिकामा एम्बुलेन्स



५ माघ, रामेछाप ।
रामेछापको दोरम्बा गाउँपालिका–६ लखनपुर जन्मिएर वैदेशिक रोजगारीको शिलसिलामा विभिन्न मूलुकमा रहेका युवाहरुबाट प्राप्त आर्थिक सहयोगमा गाउँपालिकाको वडा नम्बर ६ लखनपुरको रिष्ठेमा पहिलो पटक एम्बुलेन्स प्राप्त गरेको छ ।
दस लाख रुपैयाँ खरिद भएको एम्बुलेन्सको लागि कोरियामा रहेका युवाहरुले चार लाख, स्थानीय समाजसेवी रत्न गौतमले ३ लाख ३३ हजार, वडा नम्बर ६ लखनपुरले एक लाख, मलेसिया, जापानमा रहेका युवाहरुको सहयोग र स्थानीय दाताको सहयोगमा एम्बुलेन्स खरिद भएको हो ।


पहिलो पटक गाउँपालिकाभित्र प्राप्त भएको एम्बलेन्स सामुदायि स्वास्थ्य इकाई रिष्ठले सञ्चालन गर्ने भएको छ । एम्बुलेन्स खरिद एवं आर्थिक संकलनका अध्यक्ष खिरेन्द्रराज मोक्तानले शनिवार एम्बुलेन्सको साँचो दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिं मोक्तानलाई हस्तान्तरण गरेका छन् ।

एम्बुलेन्सको साँचो बुझेपछि गाउँपालिकाका अध्यक्ष मोक्तानले सहयोगीहरु सबैलाई धन्यवाद दिए । उनले भने,‘नागरिकहरुलाई अस्पतालसम्म पुर्याउने अत्यावश्यक साधन एम्बुलेन्स खरिद गरेर गाउँपालिकालाई ठूलो गुण लगाउनु भएको छ, गाउँपालिका निकै आभारी छ ।’


कार्यक्रममा दोरम्बा गाउँपालिका–६ लखनपुरका वडा अध्यक्ष अम्बिका प्रसाद गजुरेलले एम्बुलेन्स खरिद गरेर सहयोगी मनहरुले ठूलो गुण लगाएको बताए । उनले एम्बुलेन्स खरिद गर्न सहयोग गर्ने सबै दाताहरुलाई धन्यवाद दिदै आगामी दिनमा एम्बुलेन्सको सञ्चालन र व्यवस्थापन सामुदायिक स्वास्थ्य इकाई रिष्ठेबाट हुने बताए ।

एम्बुलेन्स सञ्चालनमा आएपछि दोरम्बा गाउँपालिकाका सात वटै वडाका बासिन्दालाई सहज हुनेछ । एम्बुलेन्स खरिद गर्नको लागि १७ लाख रुपैयाँ संकलन भएको थियो । दस लाख रुपैयाँ एम्बुलेन्समा खरिद भएको छ भने बाँकी सात लाख एम्बुलेन्स सञ्चालन र व्यवस्थापनमा खर्च हुने बताइएको छ । स्थानीय काेमल ढुंगेलले गाउँमा सबैकाे सहयाेगबाट एम्बुलेन्स प्राप्त हुनु निकै खुसीकाे बिषय भएकाे बताए ।

प्रतिक्रिया दिनुहोस्