मच्छेडाँडी बस दुर्घटना अपडेटः ओरालोमा ब्रेकफेल, चालकले धेरैको ज्यान बचाए




रामचन्द्र वि.क.
६ माघ, रामेछाप । ओखलढुङ्गाको घोराखोरीबाट काठमाडाैंका लागि छुटेको यात्रुबहाक बस रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीमा आइतबार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा ओखलढुङ्गा जिल्लाको चम्पदेबी–६ फुलबारी का ३६ वर्षिय ओम कार्की र रामेछाप जिल्ला मन्थली–५ का ३२ वर्षिय निरोज भुजेल रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।


घाइते हुनेमा रामेछापको मन्थली नगरपालिका–५ का अजय भुजेल, गौतम भुजेल, नारायण कार्की, सरोज कार्की, भक्तबहादुर भुजेल, मन्थली–६ की गंगा खत्री, पुस्कर कार्की, रामेछाप नगरपालिका– ४ का ईश्वर महत, लिखु तामाकोशी गाउँपालिकाका पदमध्वज बस्नेत रहेका छन् ।
त्यस्तै ओखालढुङ्गा जिल्लाको चम्पदेवी– ५ का नवराज पाण्डे, एजिला भुजेल, चम्पदेबी– ६ का खड्ग बहादुर भुजेल, यशोदा भुजेल, सरस्वती तामाङ, जोन तामाङ, चम्पदेबी–८ का भिम बहादुर गुरुङ, चुलराम श्रेष्ठ, रानीवन–१० का अर्जुन तामाङ, चम्पदेबी– ९ का शुशिल श्रेष्ठ, लोई माया श्रेष्ठ र चम्पादेबी भदौरेकी चिनमाया माझी रहेकी छिन् ।


त्यस्तै बर्दिया जिल्ला बाँसबारी नगरपालिका– ३ बेलुवापुरका कालीराम थारु, रामऔतर थारु, र बलदेब थारु रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख अमरेन्द्र बहादुर सिंहले जानकारी दिए । घाइतेहरुको रामेछाको मन्थलीस्थित तामाकोशी सहकारी अस्पताल र काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये दुईको अवस्था चिन्ताजनक रहेका सिंहले जानकारी दिए ।
ओखलढुङ्गाको घोराखोरीबाट काठमाडौं जान लागेको बा४ख४२१० नम्बरको अरनिको यातायातको सुपर बस ब्रेक फेलभई दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
पिच सडकको ओरालाेमा गुडिरहेको बसको एक्कासी ब्रेक फेल भएपछि चालकले दुर्घटना हुनबाट जोगाउँन सडकको भित्तातिरको गल्छीमा बस उकालेका थिए । बस दुर्घटना हुनबाट जोगाउँन गल्छीमा उकाल्दा बस पल्टिएको थियो ।

बस चालक मन्थली– ८ का पुर्ण बहादुर माझीलाई प्रहरीले नियान्त्रणमा लिएर दुर्घटनाको बारेमा अनुसन्धान गरीरहेको प्रहरी प्रमुख सिंहले जानकारी दिए ।
ओरालोमा ब्रेक फेल भएको वसलाई चालकले निकै कुशलतापूर्वक गल्छीमा हालेर ठूलो मानविय क्षतिबाट जोगाउन सफल बसमा सवार यात्रुहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्