प्रसारण लाइन निर्माणमा अवरोध भोः कुलमान घिसिङ



८ माघ, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले प्रसारण लाइनमा एकपछि अर्को अवरोध सृजना हुँदै गएको बताएका छन् । उनले प्रसारण लाइन निर्माण अन्तर्गत नाङगो डाँडामा टावरको जग खन्न सुरु गरेको कामलाई समेत वन कार्यालयले रोक लगाएको बताएका हुन् ।

प्रक्षेपित मितिमा लाइन बनाउन सकेनौं भनेँ त्यस करिडोरमा निर्माण भइरहेका आयोजनाको करिब १७० मेगावाट बिजुली खेर जाने अवस्था छ, नाङगो डाँडामासमेत काम गर्न पाईँदैन अनि कसरी प्रसारण लाइनको निर्माण गर्नु ?, उनले प्रश्न गरे । २७ किलोमिटर प्रसारण लाइन आयोजनाको निर्माण चालु आर्थिक वर्षमा सक्ने लक्ष्य राखिएको छ ।
डिभिजन वन कार्यालय, रसुवाले चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको वन क्षेत्रमा पर्ने टावर निर्माणमा रोक लगाएको छ ।
प्रसारण लाइनको निर्माण तोकिएको समयमा हुन नसकेमा चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधिन ११० मेगावाटको रसुवागढी, ४२ दशमलव ५ मेगावाटको साञ्जेन, १४ दशमलव ८ मेगावाटको माथिल्लो साञ्जेनलगायतका आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकी खेर जाने अवस्था छ । यस्तो अवस्था आएमा प्राधिकरणले आयोजनाहरुलाई क्षतिपूर्ति तिर्नु पर्ने हुन्छ ।

वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुखबिरुवा कटानको निर्णय गर्न मन्त्रिपरिषद्बाट समय लाग्ने र यसबाट काम प्रभावित हुने देखिएपछि आयोजनाले रुख विरुवा काट्नु नपर्ने गत्लाङ–ग्रेबीचमा पर्ने घलेदरबार क्षेत्रमा ६ नम्बर टाबरको जग खन्न सुरु गरेको थियो । तर, डिभिजन वन कार्यालय प्रमुख शोभा सुवेदीले वन क्षेत्रको जग्गाको भोगाधिकारको निर्णय नभएसम्म काम रोक्न नत्र सुरक्षाकर्मी पठाएर पक्राउ गर्ने चेतावनी दिएपछि काम रोकिएको आयोजना प्रमुख केदार सिलवालले बताए ।
३ करोड ५० लाख अमेरिकी डलर (करिब ३ अर्ब ५० लाख रुपैयाँ) अनुमानित लागत रहेको आयोजनामा नेपाल सरकार, जर्मन विकास बैक (केएफडब्लू) र युरोपियन इन्भेष्टमेन्ट बैक ईआईबीको लगानी रहनेछ । प्रसारण लाइनको टावर रहने स्थान र रुटमा पर्ने निजी जग्गाको मुआब्जा तथा क्षतिपूर्ति निर्धारण भई वितरण भइरहेको आयोजनाले जनाएको छ । निजी जग्गा प्रयोगमा समस्या नरहेको प्रमुख सिलवालले बताए ।

प्रतिक्रिया दिनुहोस्