खाडाँदेवी गाउँपालिकामा सबै निर्णय कानुन बमोजिम गरेका छाैंः अध्यक्ष तामाङ



९ माघ, रामेछाप ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले गाउँपालिकाले गरेको सबै निर्णय पारदर्शी रहेको बताएका छन् । उनले नियम र कानुन विपरीत कुनै पनि निर्णय नभएको बताउदै विधि र विधान नमिचिएको बताएका हुन् ।
समृद्ध खाडाँदेवी गाउँपालिका निर्माण गर्नको लागि नागरिकहरुको साथ र सहयोग लिएर जनप्रतिनिधिहरुले काम गरिरहेको उल्लेख गर्दै अध्यक्ष तामाङले नागरिकहरुको भावना र चाहना अनुसार नै काम गरिरहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘गाउँपालिकाबाट सम्पादन भएको सबै निर्णय पारदर्शी र कानुनसम्वत छ, गाउँपालिकाले गरेको सबै काम नागरिकहरुलाई स्पष्ट रुपमा राख्दै आएका छौं ।’


विकास निर्माणका योजना नीति तथा कार्यक्रम अनुसार नै कार्यान्वयन भइरहेको छ, जनप्रतिनिधिहरुलाई कानुन भन्दा दायाँबायाँ गर्ने कुनै अधिकार छैन, जनताको सेवा गर्न आएका जनप्रतिनिधिहरुले अपारदर्शी ढंगले काम गर्दैनन, उनले भने ।
विकास निर्माण लगायत गाउँकार्यपालिकाबाट भएको सबै निर्णय आवश्यक पर्दा नागरिकहरुले सहज रुपमा पाउनै बताउदै अध्यक्ष तामाङले सूचना आवश्यक परेको अवस्थामा लिखित वा मौखिक दुवै उपलब्ध गराउने बताए ।
गाउँपालिकाभित्र हुने सबै गतिविधिलाई पारदर्शी बनाउनको लागि पत्रपत्रिमा सूचना प्रकाशित गरेर कानुन बमोजिम नै गाउँपालिकामा कर्मचारी भर्ना गरिएको उल्लेख गर्दै अध्यक्ष तामाङले भने,‘जनताले मलाई खाँडादेवी गाउँपालिकाको विकास गर्न पठाएका हुन, जनताको भावनामाथि चोट पुग्ने काम गर्दिन ।’
गाउँपालिकामा आफन्तलाई भर्ती केन्द्र बनाउनु भयो भन्ने आरोप छ नि भन्ने जिज्ञासामा उनले खुल्ला प्रतिस्पर्धा मार्फत योग्यता पुगेका जो कोही पनि छनोट हुन सक्ने विषयलाई ठूलो बनाउन आवश्यक नरहेको बताए ।

नियम र कानुन अनुसार छनोट हुँदा आफन्तवादको आरोप लगाउनु गलत भएको बताउदै उनले भने,‘खुल्ला प्रतिस्पर्धाबाट योग्यता र क्षमता भएका जो कोही पनि आउछ सक्छन, डा.रमिता लामा पनि खुल्ला प्रतिस्पर्धाबाट नियुक्त भएकी हुन, यो विषयलाई आफन्तवादसँग जोडन जरुरी छैन ।’

प्रतिक्रिया दिनुहोस्