रामेछापमा भाइरल ज्वरोको प्रकोप,विद्यालय बन्द गर्ने निर्णय



राजन महतारा क्षेत्री
१० माघ, रामेछाप । मौसम परिवर्तनसँगै रामेछाप जिल्लामा फैलिएको भाइरल ज्वरोका बिरामीले जिल्ला अस्पताल रामेछापको बेड भरिभराउ भएको छ । दैनिक ५० देखि ६० जना भाइरल ज्वरोका बिरामीहरु उपचारका लागि जिल्ला अस्पताल आउन थालेपछि जिल्ला अस्पतालका बेड भरिएका हुन ।
भाइरल ज्वरोका बिरामी बढेकाले केही बिरामीहरुलाई बेडको अभावमा आकस्मिक कक्षमै राखेर उपचार गराइरहेको जिल्ला अस्पताल रामेछापका डा. लिलामणि राजभलाले जानकारी दिए । उनका अनुसार अस्पताल आउने धेरै विरामीहरुमा भाइरल ज्वरो र केही विरामीहरुमा दम रुघाखोकी , निमोनिया जस्ता समस्याहरु देखा परेको छ ।


भाइरलबाट धेरैजसो बालबालिका तथा बृद्घाबद्ध बढी प्रभावित बनेका छन् । विरामीहरुमा रुघाखोकी , ज्वरो, खाँटी दुख्ने , छाती दुख्ने, हातखुट्टा दुख्ने जस्ता लक्षण देखिएको अस्पतालले बताएको छ ।
मौसम परिवर्तनसँगै फैलिएको भाइरल ज्वरोका बिरामीले १५ शैयाको जिल्ला अस्पताल खचाखच भरिएको डा. राजभलाले बताए । चिसोको कारणले अस्पतालमा विरामीको चाप बढेको बताउँदै उनले भाइरल ज्वरोबाट बच्न न्यानो कपडा लगाउन, तातो खानेकुराहरु खान विशेष ध्यान दिन, धुलोबाट जोगिन र बालबालिका र वृद्धवृद्धाहरुको ख्याल गर्न सल्लाह दिएका छन् ।

यता भाइरल ज्वरोले विद्यार्थीहरु बिरामी परेपछि रामेछापमा रहेको गौरीशंकर माध्यमिक विद्यालय २ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । विद्यालयका ७० प्रतिशत विद्यार्थीहरु बिरामी परेपछि बाँध्य भएर विद्यालय बन्द गर्नुपरेको गौरीशंकर माविका प्रअ निर बहादुर कार्कीले बताए । विद्यालयका विद्यार्थीहरुसँगै शिक्षकहरु पनि विरामी परेका छन ।

प्रतिक्रिया दिनुहोस्