सैलुङमा निरन्तर हिमपात, हिउ खेल्नेको भिड बढ्यो (फोटोफिचर)



नारायण श्रेष्ठ
१२ माघ, रामेछाप । पर्यटकीय क्षेत्र सैलुङमा पानी परेसँगै निरन्तर रुपमा भारी हिमपात भएको छ । रामेछाप र दोलखाको सीमा सैलुङमा हिउ खेल्ने पर्यटकहरुको भिड बढेको छ । सडक सञ्जालसँग जोडिएसँगै आन्तरिक एवं बाह्य पर्यटकहरु हिउ खेल्नको लागि सैलुङ आउने क्रम बढेको छ ।

सदरमुकाम मन्थली, राजधानी काठमाडौं लगायतका क्षेत्रबाट समेत पर्यटकहरु आउने क्रम बढेको दोरम्बा गाउँपालिका–२ का वडा अध्यक्ष खड्गबहादुर श्रेष्ठले रामेछाप न्युजलाई बताए । उनले भने,‘पर्यटन गन्तव्य गाउँ घोषणा भएकै बर्ष सैलुङमा हिउ पर्दा दोरम्बामा चहलपल बढेको छ ।’


हिउ खेल्नको लागि सैलुङ आउने पर्यटकहरु बस्ने राम्रो होटल नहुँदा पनि एक रात सैलुङमा बस्न चाहेर पनि नपाएको गुनासो बढेको छ । पर्यटकीय क्षेत्र सैलुङमा सुविधा सम्पन्न होटल तथा लज खोल्नु पर्ने माग विगतदेखि नै चल्दै खाएको छ । केही भएको होटलहरुमा पनि पर्यटकको भिड लाग्दा खचाखच हुने गरेको छ ।
रामेछापको दोरम्बा गाउँपालिकाकाले सैलुङ क्षेत्रको विकासको लागि योजना बनाएर नै अगाडि बढने विषयमा गृहकार्य अगाडि बढाएको छ भने प्रदेश ३ को सरकारले पनि भौतिक पूर्वाधार निर्माण गर्नको लागि १ करोड विनियोजन गरेको छ । केही दिन यता दैनिक रुपमा डेढ सय भन्दा बढी मानिसहरु हिउ खेल्ने आउने गरेको स्थानीय च्याङबा तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्