ट्राफिक प्रहरीको सक्रियताः रामेछापमा ७ हजार सवारी साधनमाथि कारवाही



रामचन्द्र वि.क.
१२ माघ, रामेछाप । रामेछापमा चालु आर्थिक वर्षको ६ महिनामा ट्राफिक नियम उलंघन गर्ने ७ हजार २ सय ७५ वटा सवारीसाधन कारबाहीमा परेका छन् ।
जिल्ला ट्राफिक कार्यालय रामेछापले सवारी दुर्घटनालाई न्यूनिकरण गर्न चलाएको अभियानमा ती सवारीसधन कारबाहीमा परेका हुन् । कारबाहीमा परेका सवारीसाधनबाट ५० लाख ४२ हजार राजस्व समेत संकलन भएको छ । आर्थिक वर्षको श्रावण १ गते देखि माघ ११ गते सम्ममा यति धेरै राजस्व संकलन भएको हो ।


सवारी साधनको बिलबुक नभएका, सवारी चालक अनुमती पत्र नभएका, मापसे गरेर जथाभावी सवारी चलाउने, जथाभावी सडकमा सवारी छोडेर हिड्ने लगायतका सवारीधनीहरु कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय रामेछापका प्रमुख कुशहरि भण्डारीले जानकारी दिए ।


मोटरसाइकल, ढुवानीका ठुला साधन, टाटा सुमो, यात्रुबहाक बस लगायतका सवारी साधन कारबाहीमा परेको प्रमुख भण्डारीले जानकारी दिए । यो अभियानले गर्दा जिल्लामा सवारी दुर्घटनामा समेत कमी आएको भण्डारीले दाबी गरे । जिल्लाको सवारी दुर्घटनालाई कम गर्नको लागि आफूहरुले सवारी चालकहरुलाई पटक–पटक कारबाही गर्दा पनि अझै सचेत नभएको प्रमुख भण्डारीको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्