रामेछापलाई समृद्ध बनाउने योजना बनाउन मुख्यमन्त्री पौडेलको निर्देशन



१४ माघ, रामेछाप ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले रामेछापको विकासको योजना बनाउन आठ वटै स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । उनले सानातिना भन्दा पनि स्थानीय तहको विकासमा प्रभाव पार्ने योजना छनोट गर्न आग्रह गरेका हुन् ।
जिल्ला समन्वय समिति रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले तीन तहकै सरकार मिलेर देशलाई समृद्ध बनाउन सकिने विश्वास व्यक्त गरे । उनले भने,‘विकाससँगै सुशासन पनि चाहिन्छ, विकास निर्माणको काम पारदर्शी ढंगेल अगाडि बढाउनु पर्छ ।’


रामेछापको विकासको लागि पकेट क्षेत्र घोषणा गरेर कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउदै भूवनोट अनुसारको खेती प्रणाली अपनाउने गरी योजना बनाउन पनि स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरे । अब योजना छनोट गर्दा व्यक्तिगत योजना हुदैन, ठूला योजना छनोट गरेर काम गर्नुपर्छ, उनले भने ।
स्थानीय तहका जनप्रतिनिधहरु ठेकेदार बन्ने प्रवृत्ति गलत भएको बताउदै मुख्यमन्त्री पौडेल गलत काम रोक्नु पर्नेमा जोड दिए । उनले भने,‘जनप्रतिनिहरु नै ठेकेदार बनेर यसरी विकास हुँदैन,सेवाको भावले सुशासन र सेवा दिने गरी काम गर्नुपर्छ ।’


रामेछापमा खानेपानीको समस्या समाधान गर्न प्रदेश सरकारले ध्यान दिएको बताउदै रामेछापको विकासको योजना आठ वटै स्थानीय तहका प्रमुख उपप्रमुख बसेर तय गर्न आग्रह गरे । सडक मात्र निर्माण गरेर विकास नहुने भन्दै उनले जनताको हितलाई केन्द्रमा राखेर योजना तय गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढंगेल, रामेछाप प्रदेश सभा १ का सांसद शान्ति पौडेल, जिल्ला समन्वय समितिका अध्यक्ष प्रेमबहादुर खडका, पूर्व सभासद तारानारायण श्रेष्ठ, रामेछापका आठ वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष र वडा अध्यक्षहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्