गाल्वाको सीमा विवाद मिल्यो यस्तो भयो निर्णय (निर्णयसहित)



१६ माघ, रामेछाप ।
सुनापती र खाँडादेवी गाउँपालिकाले दावी गर्दै आएको गाल्वाको सीमा विवाद समाधान भएको छ । खाँडादेवी गाउँपालिकको चोप्राङ र सुनापती गाउँपालिकाको दिपीपोखरी वडाले आ–आफ्नो दावी गरेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले विवादको टुंगो लगाएको हो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले गाल्वा बजार दुवै गाउँपालिकाको साझा भएको निर्णय गरेको छ । गाउँ पञ्चायको नापी नक्साको अध्ययन र दुवै गाउँपालिका अध्यक्ष सहितका जनप्रतिनिधिहरुको छलफलपछि सीमाको विवाद टुंगो लगाएको छ । रामेछापका प्रजिअ शर्माले रामेछाप न्युजसँग भने,‘हामीले नापी नक्सा अध्ययन गर्यो, जनप्रतिनिधिहरुसँग परामर्श गर्यौ, दुवै गाउँपालिकाको सीमाना पानी ढलो हुने गरी निर्णय गरेका छौं ।’

उनले गाल्वाको सरकारी जग्गामा घर टहरा निर्माण नगर्न पनि आग्रह गरेको बताए । सुनापती गाउँपालिका–३ दिपीपोखरीले अधेरीखोलासम्म आफ्नो सीमा भएको दावी गरेको थियो भने खाँडादेवी गाउँपालिकाले गाल्वासम्म नै सीमा भएको दावी गरेको थियो ।


जिल्ला प्रशासन कार्यालय रामेछापले गरेको निर्णयमा भनिएको छ, २०३२ सालमा अँधेरीखोलालाई साविक चोप्राङ गाउँपञ्चायत र दिमीपाखरी गाउँपञ्चायतको सीमाना कामय गरी नाप नक्सा भएको मिति २०३८।०८।२६ को जिल्ला गाउँ पञ्चायतको सीमाना हेरफेर तथा वडा विभाजन सम्बन्धि बैठकको निर्णयबाट साविक चोप्राङ र दिमीपोखरी सीमाना ‘पूर्वमा अग्लेश्वर महादेव डाँडा गाल्वा भञ्ज्याङ थुम्कीडाँडा हुँदै डोग्मा गाउँपञ्चयातको सीमाना पश्चिममा खानीखोला उत्तरमा पूर्वी सीमाना अगेश्वर हुँदै घाटडाँडा खानीखोला दोरम्बा गाउँपालिकाको साविक सीमाना दक्षिणमा प्रस्ताविक डोग्मा गाउँ पञ्चायतको सीमाना’ कायम गरेको देखियो ।


साविक चोप्राङ हाल खाँडादेवी गाउँपालिका र साविक दिमीपोखरी हाल सुनापती गाउँपालिकामा पर्ने हुँदा खाँडादेवी गाउँपालिका र सुनापती गाउँपालिकाको सीमाना सम्बन्धमा सोही बमोजिम हुने गरी निर्णय गरिएको निर्णयमा उल्लेख गरिएको छ ।


साथै गाल्वा भञ्ज्याङ क्षेत्रमा पर्ने सरकार तथा सार्वजनिक जग्गा अतिक्रमण गरी कसैलाई पनि घरटहरा बनाउन नदिने निर्णय गर्दै बैठकले उक्त क्षेत्रको पर्यटकीय लगायतका विविध क्षेत्रको विकासका लागि सुनापती गाउँपालिका र खाँडादेवी गाउँपालिकाले सम्बन्धित निकायको स्वीकृत लिई संयुक्त पहल गर्ने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्