फेरिदै रामेछापको मुहारः सित्खा–गोगनपानी– भदौरे–भोटनागी सडक कालोपत्रे हुँदै



१८ माघ, रामेछाप ।
रामेछाप जिल्लामा विकास निर्माणको कामले विस्तारै गति लिएको छ । सडक निर्माणमा प्रदेश सरकार र स्थानीय सरकारले सक्रियता देखाएका छन् । रामेछाप जिल्लामा झण्डै १३ सय किलोमिटर भन्दा बढी सडक निर्माण भएको छ । तर अहिलेसम्म पचास किलोमिटर मात्र सडक कालोपत्रे भएको छ । तीन नम्बर प्रदेश सरकारले यस आर्थिक बर्ष मात्र चार वटा सडक कालोपत्रे गर्न टेन्डर अगाडि बढाएको छ ।
जिल्लाको चार वटा सडक टेन्डर भएको छ । जस अन्र्तगत यस बर्ष ३५ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलेको पहलमा जिल्लाका रणनैतिक सडकको कालोपत्रे सुरु भएको हो । चार वटा सडक बहुबर्षिय आयोजना अन्तर्गत टेन्टर भएका छन् ।


प्रदेश सरकारले सित्खा–भिरपानी–गोगनपानी– फुल्पा–धुले– मेगर्पा–भदौरे हुँदै भोटनागीसम्मको करिब ६० किलोमिटर सडक कालोपत्रे गर्न टेन्डर आह्वान गरिसकेको छ । यस आर्थिक बर्ष भने सित्खादेखि गोगनपानीसम्म १०.२९ किलोमिटर सडक कालोपत्रे हुनेछ ।
३ नम्बर प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालय पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख जयराम श्रेष्ठले जिल्लामा चार वटा सडक कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढिसकेको बताए । उनले रामेछाप न्युजसँग भने,‘जिल्लामा चार वटा सडक कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढेको छ, अझै केही सडक निर्माणको योजना थपिन सक्छ ।’
उनका अनुसार सित्खा–भिरपानी–गोगनपानी–फुल्पा–धुले–मेगर्पा–भदौरे हुँदै भोटनागी सडक कालोपत्रे गर्नको लागि यस आर्थिक बर्ष २० करोड रुपैयाँ विनियोजन भएको छ । चौडा नाला समेत गरेर सडक ८ मिटर हुने गरी कालोपत्रे हुनेछ ।

प्रतिक्रिया दिनुहोस्