तीब्र गतिमा निर्माण हुँदै रामेछाप–काभ्रे जोडने सुनकोसीको सिन्दुरेटार–मुक्पाटार पुल



माघ २३, रामेछाप ।
रामेछाप–काभ्रे जोडने सुनकोसीस्थित सिन्दुरेटार–मुक्पाटार पुल निर्माणको कार्य तीब्र गतिमा अगाडि बढेको छ । हिउद बर्षा नै पुल निर्माणको काम हुँदा तोकिएकै समयमा सम्पन्न हुने भएको हो । एक बर्ष अघि निर्माण कार्य सुरु भएको रामेछापको सुनापती गाउँपालिका–४ बेथानस्थित सिन्दुरेटार र काभ्रेको तेमाल गाउँपालिका मुक्पाटारमा निर्माण भइरहेको पुलको ६ वटा पिलर मध्ये चार वटा निर्माण कार्य भइसकेको छ ।

स्थानीय कल्याण केसीका अनुसार पाँचौ पिलर निर्माण गर्नको लागि नदी डाइभर्सनको काम भइरहेको छ । करिब छ किलोमिटर टाढा रामेछाप जोडने खैरेनीघाटको पक्की पुल दस बर्ष वितिसक्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन् । तर निर्माण थालिएको एक बर्षमा नै पुल निर्माणको कामले रामेछापवासीलाई उत्साहित बनाएको छ ।


पुल निर्माण भएपछि रामेछापलाई राजधानी काठमाडौंलाई जोडने पक्की पुल निर्माणले कृषि र पर्यटनमा ठूलो टेवा पुर्याउनेछ ।
२ सय १० मिटर लामो पक्की पुल २३ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको निर्माण कम्पनीले बताएको छ । टेण्डी÷शर्मा जेभी निर्माण सेवाले पुल निर्माणको जिम्मेवारी लिएको छ ।

पुल निर्माणमा संलग्न इन्जिनियर मञ्जिल मिश्रले रामेछाप न्युजसँग भने,‘पुलको डिजाइनको लागि २०७३ मा सम्झौता भएको हो अहिले धमाधम काम भइरहेको छ ।’ सम्झौता अनुसार पुल २०७६ सालमा पुल निर्मा०ा सम्पन्न गरिसक्नु पर्नेछ । उनका अनुसार ६ वटा पिलर रहने आरसिसी पुलको चौडाई ७ .५ मिटर रहेको छ ।
सुनकोसी नदीमा निर्माणाधिन पुल हाल निर्माणको चरणमा रहेको मध्य पहाडी लोकमार्गसँग जोडिने छ । हाल लभु–खुर्कोट खण्डको सडक निर्माण भइरहेको छ । पुल निर्माण भएपनि मध्य पहाडी लोकमार्ग हुँदै विपी हाइेव जोडन सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्