गोकुलगंगा गाउँपालिकाभित्रका ४ वटा गौरवको योजनालाई बजेट थप



रामचन्द्र वि.क.
२४ माघ, रामेछाप । गोकुलगंगा गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५÷०७६ का लागि भएको गाउँसभाले केही महत्वपूर्ण ऐन कानून सहित ७ करोड तीन लाख ९५ हजार बराबरको बजेट पारित गरेको छ । गाउँपालिकाको कार्यालय रस्नालुमा भएको गाउँसभाले आर्थिक वर्ष २०७४÷०७५ को नगद मौजद बजेट यस आर्थिक वर्षमा संचालनमा रहेका विभिन्न योजनाहरुमा खर्च गर्ने गरी पारित गरेको छ ।

अत्यावश्यक कानून पारित
गाउँसभाले पालिकामा आवश्यक पर्ने बालसंरक्षण ऐन, अपाङगता परिचय पत्र वितरण गर्ने कानून, पशुपंक्षी कृषि विकास बोर्ड ऐन लगायतका ऐन र कानून पनि पारित गरेको छ । ऐन तथा कानून पारित भए सँगै बालबालिका, कृषक र अपाङ्गता भएका व्यक्तिलाई सहज हुने गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिको संयोजक राधिका श्रेष्ठले बताउनुभयो ।

गाउँपालिका गौरबका चार योजनालाई बजेट थप
समग्र गाउँपालिकालाई नै समेट्ने गरी गाउँपालिकास्तरीय योजनामा पनि बजेट विनियोजन भएको छ । उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकालाई जोड्ने गरी निर्माण भइरहेको (देउराली, डडुवा, विगु, सोत्रे, आरुबोटे, पात्ले, टगम, कसे, खरिखोला, माजखर्क दाब्रे, बुर्के) सडकलाई ५७ लाख ६० हजार विनियोजन भएको छ । त्यसैगरी गोकुलगंगा गाउँपालिकाको केन्द्रलाई जोड्ने गरी निर्माण भइरहेको ( फर्पु वडा भवन, लुते पहरो, चित्रे, पासाबार, काँडे, लामिडाँडा, लिसेखानी, गैरी सुर्के फेदी, भिमसेनथान) सडक लागि ५७ लाख ६० हजार बजेड विनियोजन भएको छ ।


यी ठुला गाउँपालिकास्तरीय योजनाले गाउँपालिकाको केन्द्रसम्म आवतजावत गर्न स्थानीयहरुलाई सहज हुने गाउँपालिका अध्यक्ष खड्ग बहादुर सुनुवार बताए । त्यसैगरी निर्माण कार्य भइरहेको गाउँपालिकाको भवनलाई एक करोड ९० लाख र पालिकास्तरीय १५ सैयाको अस्पताललाई एक करोड विनियोजन भएको छ ।

कार्यपालिकाको बैठकमा लेस पेपर गराउने कार्यक्रम
गाउँसभाले प्रविधिलाई प्रयोग गरेर थोरै समयमा धेरै काम गर्ने गरी यसै आर्थिक वर्ष देखि कार्यपालिका सदस्य लगायत कार्यालयमा लेस पेपर गराउने गरी कार्यक्रमलाई समेत बजेटमा समेटिएको छ । पछिल्लो समयमा प्रविधिले प्रयोग गरेर काम गर्दा निकै प्रभावकारी र विश्वसनिय हुने भएको हुँदा बजेटमा यास्तो कार्यक्रम समेटिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिब कुमार राईले जानकारी दिए ।

लक्षित वर्ग कार्यक्रम पनि समावेश

गाउँसभाले पालिकाभित्र रहेका महिला तथा दलितलाई समेत लक्षित गरी कार्यक्रम ल्याएको छ । महिला समावेशीकरणको लागि १५ लाख र दलित लक्षित ६ लाख बजेट विनियोजन भएको छ । गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राधिका श्रेष्ठले योजना तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्