गोकुलगंगा गाउँपालिकाद्धारा शिक्षामा सुधार ल्याउन शिक्षकहरुमाथि निगरानी



रामचन्द्र वि.क.
२७ माघ, रामेछाप । गोकुलगंगा गाउँपालिकाले पालिकाभित्र रहेका माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । विद्यालयमा शिक्षा क्षेत्रमा सुधार ल्याउनको लागि गाउँपालिकाले विद्युतीय हाजिरी प्रयोगमा ल्याएको हो ।
पालिकाभित्र रहेका सात ओटै विद्यालयमा गाउँपालिकाले विद्युतिय हाजिरी राखिदिएपछि त्यहाँ कार्यरत शिक्षकहरु पालिकाको प्रत्यक्ष निगरानीमा पर्ने भएका छन् ।


विद्यालयमा कार्यरत शिक्षकहरु समयमै नआउने, विद्यालय समयभित्रै छोडेर हिड्ने, धेरै दिन पछि आएर हाजिरी गर्ने जस्ता गुनासो अभिभावकले राख्दै आएपछि गाउँपालिकाले विद्युतीय हाजिरीको सुरुवात गरेको हो । अब गाउँपालिका भित्र रहेका माविमा कार्यरत शिक्षकहरुले विद्यालय सुरु हुने समय र बन्द हुने समयमा हाजिर गरेर मात्र जान पाउँने छन् ।

अन्यथा गाउँपालिकाले जुनसुकै समयमा विद्यालय समय भित्र शिक्षकहरु कार्यालयमा रहे–नरहेको जाँच गरेर कारबाही नै गर्ने छ । गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले शिक्षाको गुणस्तर सुधार गर्नको लागि पनि विद्युतीय हाजिरीले काम गर्ने विश्वास लिएको बताए ।


गोकुलगंगा भित्र रहेका सेती देवि मावि, जट्टेश्वोरी मावि, जनजागृती मावि, कमलादेवी मावि , श्री मावि, गोकुलगंगा मावि, र शारदा माविलाई आइतबार र सोमबार एक कार्यक्रमको आयाजना गरी विद्युतीय हाजिरी वितरण गरिएको हो ।
शिक्षालाई पद्धतीमा लैजानको लागि गाउँपालिकाको दिर्घकालिन योजना रहेको भन्दै गाउँपालिका अध्यक्षसुनुवारले गुणस्तरीय शिक्षाको लागि आफूहरु लागि परेको बताए । गाउँपालिकाले शिक्षा क्षेत्रको बिकासलाई प्रमुख प्राथमिकतामा राखेर काम गरीरहेको अध्यक्ष सुनुवारको भनाई रहेको छ ।


गाउँपालिकाको शैक्षिक सूचनालाई विद्युतीय माध्यममा जोड्नको लागि पालिकाभित्र रहेका विद्यालयलाई विद्युतीय हाजिरी प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत शिब कुमार राइले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्