खाँडादेवी र सुनापती गाउँपालिकाद्धारा कोथबेको अस्थायी पुल पुनः सञ्चालन गर्ने निर्णय



२८ माघ, रामेछाप । खाँडादेवी गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठकले जिल्ला प्रशासन कार्यालयले सवारी सञ्चालनमा रोक लगाएको कोथबेको अस्थायी कल्र्भट पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाको बैठकले नागरिकहरु आवत जावत गर्ने अस्थायी कल्र्भट सञ्चालनमा रोक लगाउन नहुने निष्कर्ष निकाल्दै पुनः सञ्चालन गर्न भूमिका खेल्ने निर्णय गरेको हो ।
खाँडादेवी गाउँपालिका र सुनापती गाउँपालिकाको समन्वयमा नागरिकहरुको सुविधालाई ध्यान दिदै निर्माण गरिएको अस्थायी कल्र्भट बन्द हुँदा राजधानी काठमाडौं आवतजावत गर्न कठिनाई भएको बैठकले ठहर गरेको छ ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले नागरिकहरुको आवत जावतलाई बाधा सृजना गर्ने गरी कल्र्भट सञ्चालनमा रोक लगाउनु बेठिक भएको बताए । उनले भने,‘नागरिकको सुविधा नै ठूलो कुरा हो, कुनै पनि पक्षलाई बाधा नहुने गरी कल्र्भट सञ्चालन हुँदै आएको छ, अस्थायी कल्र्भट साविकैझै नियमित रुपमा सञ्चालन गर्ने निर्णय गरेका छौं ।’


पर्यटन व्यवसायी रमेश योञ्जन सहितको स्थानीय जल पर्यटन व्यवसायीहरुको हवला दिदै संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधिकारीलाई निवेदन दिएको थियो । सोही निवेदनको आधारमा मन्त्री अधिकारीको ठाडो आदेशमा अस्थायी कल्र्भट बन्द गर्न जिल्ला प्रशासन कार्यालय रामेछापलाई पत्राचार भएको थियो । सोही आधारमा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिका पदाधिकारीले अनुगमन गरेर गत बुधवारबाट अस्थायी कल्र्भट सञ्चालनमा रोक लगाएको थियो ।


अस्थायी कल्र्भट बन्द हुँदा रामेछापबाट काठमाडौं सञ्चालन हुने सवारी साधन सिधा चल्न सकेका छैनन् । उक्त कल्र्भट हुँदै दैनिक तीन दर्जन भन्दा बढी यातायात सञ्चालन हुने गरेको छ । साथै सित्खाको पुल घुम्न नपर्ने भएको कारण सुनापती गाउँपालिका, खाँडादेवी गाउँपालिका र दोरम्बा गाउँपालिकाका करिब पाँच सय भन्दा बढी यात्रुहरु सोही अस्थायी कल्र्भटबाट आवतजावत गर्ने गरेका छन् ।
अस्थायी कल्र्भट सञ्चालनमा आएपछि बिरामीलाई काठमाडौ लैजान समेत निकै सहज भएको छ । चार महिनापछि निर्माणाधिन खैरेनीघाटको पुल सम्पन्न हुने भएपछि स्थानीयले जे सकै कारण भएपनि बाँकी चार महिना अस्थायी कल्र्भट सञ्चालन गर्न माग गरेका छन् ।
सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले कोथबेको अस्थायी कल्र्भट कुनै पनि हातलमा सञ्चालन गर्नुपर्ने माग गरेका छन् । उनले जनताको सुविधाको लागि सञ्चालनमा ल्याइएको अस्थायी कल्र्भट बन्द गराउदा जनताको दैनिक आवतजावतलाई समस्या पर्नुको साथै पुननिर्माणको काममा समेत असर पर्ने बताएका छन् । अस्थायी कल्र्भट बन्द गर्ने निर्देशनप्रति दोरम्बा गाउँपालिकाले पनि आपत्ति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्