रामेछापको हिमगंगामा पहिलो पटक सडक पुग्यो, तर बिजुली अझै पुगेन



राजन महतारा क्षेत्री
२९ माघ, रामेछाप । रामेछाप नगरपालिकाभित्र सडक निर्माणको कामले गति लिएको छ । विगतमा निर्माण भएको सडकको स्तरउन्नती गदै नगरपालिकाले सडकको फराकिलो बनाएको हो ।
रामेछाप नगरपालिका–४ हिमगंगा पहिलो पटक सडक सञ्जालमा जोडिएको छ । जिल्लाकै विकट मध्येको एक मानिने हिमगंगामा सडक पुगेपछि स्थानीय खुशी भएका छन् । रामेछाप नगरपालिकाको नगरस्तरीय योजना अन्तर्गत ३० लाख रुपैयाँ लागतमा सडक निर्माण भएको हो ।
फोन्दी खोला बोलङ बोलङ फेमेटार सडक योजना नामाकरण भएको नवनिर्मित सडक ६.५ किलोमिटर लम्बाई र ६ मिटर चौडाईको छ । दलित र जनजाति समुदायको बाहुल्यता रहेको हिमगंगा सडक सन्जालमा जोडिएपछि स्थानीयहरु निकै खुशी भएका छन ।


सोही वडामा नगरले घुमाउने पोखरी पिकनिक विकास क्षेत्र नामक योजनामा ७ लाख रुपैयाँको लागतमा पिकनिक स्पोर्ट निर्माण गरेको छ । त्यस क्षेत्रलाई पिकनिक स्पोर्टका रुपमा मात्रै नभई पार्कका रुपमा समेत विकास गरिने नगरपालिकाले योजना अगाडि सारेको छ ।
योजनाको सार्वजनिक सुनुवाईमा नगरपालिकाका नगरप्रमुख नरबहादुर थापा मगरले विकासमा पछाडी परेको हिमगंगालाई आफ्नै कार्यकालमा नमूना वडाका रुपमा विकास गर्ने बताए । उनले रामेछाप नगरपालिलाई आर्थिक रुपमा सबल बनाउन नगरस्तरीय योजना निर्माण र तीनको कार्यान्वयनका लागी आफू लागिपरेको बताए ।


भर्खरै सडक सञ्जालमा जोडिएको हिमगंगामा हालसम्म विद्युत सेवा भने पुगेको छैन । नगर प्रमुख थापा मगरले केही महिनाभित्र गाउँमा विजुली बलिसक्ने दाबी गरे ।
कार्यक्रममा वडाध्यक्ष टुपिन्द्र तामाङले वडामा नगरस्तरीय योजनाका साथै वडाका आफ्ना योजना पनि सँगै कार्यान्वयनमा लैजाने गरी काम भईरहेको बताए । योजनाको अनुगमनको क्रममा जिल्ला प्रशासन कार्यालय रामेछापका नासु लक्ष्यमण भुजेलले आर्थिक अनियमितता नगरी विकासका काम गर्न आग्रह गरे । अनियमितता गरे प्रशासनले नछोड्ने बताउदै उनले पारर्दशी ढंगेले काम गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्