रामेछाप–सिन्धुली जोडने खैरेनीघाट पुल निर्माणमा संघीय सरकारकाे अवरोध



२९ माघ, रामेछाप ।

दस बर्ष अघि निर्माण सुरु भएको रामेछाप–सिन्धुली जोडने खैरेनीघाटको पक्की पुल यस बर्ष सम्पन्न हुने गरी निर्माण भइरहेको छ । पुल निर्माण कार्य धमाधम जारी भइरहेको बेला निर्माण सामाग्री नदी तार्नको लागि समस्या सृजना भएको छ । पुल निर्माणको जिम्मेवारी पाएको लामा÷खम्पाचे÷कन्काई जेभीले सिन्धुलीतर्फ रहेको निर्माण सामाग्री रामेछाप लैजान कठिन भएको बताएको छ ।

खैरेनीघाट नजिकै रहेको कोथबेमा दुई महिना अघि अस्थायी कल्र्भट सञ्चालनमा आएपनि संघीय सरकारले रोक लगाएपछि समस्या सृजना भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले जलयात्रामा अवरोध गरेको भन्दै उक्त अस्थायी कल्र्भट बन्द गर्ने पत्राचार गरेको थियो । पत्र अनुसार जिल्ला प्रशासन कार्यालय रामेछाप, जिल्ला समन्वय समिति रामेछाप, जिल्ला प्रहरी कार्यालय रामेछापको बैठक मार्फत तत्काल अस्थायी कल्र्भट बन्द गर्ने निर्णय गरेको थियो । अस्थायी कल्र्भट सञ्चालनमा सरकारले नै रोक लगाएपछि पुल निर्माणको काम समेत प्रभावित भएको छ ।


कन्काई निर्माण सेवाका साइट इन्चार्ज जयमंगल भण्डारीले सिन्धुलीतर्फबाट मात्र स्टीलट्रष्ट जडानको काम गर्न कठिनाइ भएकाले रामेछाप तर्फबाट पनि गर्नुपर्ने अवस्था सृजना भएको बताए । उनले सिन्धुलीतर्फ रहेको सामाग्री रामेछापतर्फ लैजान सित्खा घुमाएर ल्याउन कठिनाई भएको बताए । उनले भने,‘काम गर्नको लागि क्रेन पनि रामेछाप तर्फ लैजानु पर्ने आवश्यकता छ, अझै चार गाडी निर्माण सामाग्री लैजान मध्य पहाडी लोकमार्ग निर्माण भइरहेकाले साँघुरो सडकको कारण कठिन छ ।’


सरकारले अनुमती दिएको अवस्थामा कोथबेको अस्थायी कल्र्भटबाट क्रेन र निर्माण सामाग्री लैजान सकिने भण्डारीले बताए । अस्थायी कल्र्भट सञ्चालन गरेको अवस्थामा पुल निर्माणको कामले थप गति लिने निर्माण कम्पनीले बताएको छ । स्थानीयले बाँकी ४ महिना अस्थायी कल्र्भटमा रोक लगाउन माग गरेका छन् । सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा र खाँडादेवी गाउँपालिकाका अध्यक्ष भने अस्थायी कल्र्भट पुनः सञ्चालन गराउनको लागि पर्यटनमन्त्री रविन्द्र अधिकारीसँगको छलफलमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्