रामेछापमा मनाइयो जनयुद्ध दिवसः पार्टी एकतालाई टुंगो लगाउन माग
रामचन्द्र वि.क.
१ फागुन, रामेछाप । नेपाल कम्युनिष्ट पार्टीले रामेछापमा जनयुद्ध दिवस मनाएको छ । तत्कालिन नेकपा माओवादीले मात्रै मनाउँदै आएको जनयुद्ध दिवस २४ वर्ष पछि भने पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपाले जनयुद्ध दिवस मनाएको हो । २०५२ सालमा तत्कालिन नेकपा माओवादीले जनयुद्धसुरु गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ ।
जिल्ला समन्वय समिति रामेछापको हलमा भएको कार्यक्रममा पूर्व एमालेका तत्कालिन अध्यक्ष समेत रहेका नेकपाका नेता तथा तीन नम्बर प्रदेशका सांसद शान्ती पौडेल प्रमुख अतिथि रहेका थिए भने पूर्व नेकपा माओवादीका तत्कालिन ब्रिगेट कमण्डरको जिम्मेवारी सम्हालेका नेकपाका नेता कमान सिंह मोक्तान सहितका नेताहरुले एउटै मञ्चमा बसेर जनयुद्धलाई सम्झेका छन् ।
एकता हुनु अघि पार्टीका कुनै पनि कार्यक्रममा आमन्ने सामन्ने नहुने यी दुई नेताले बुधरबार एउटै मञ्चमा एक आपसमा सिन्दुर लगाएर ऐतिहासिक जनयुद्धको खुलेरै प्रशसा गरे । तत्कालिन समयमा पूर्व माओवादी र एमाले हुँदा एक अर्कको खरो विरोध गर्दै आएका नेताहरुले पार्टी बलियो बनाउनलाई एकता प्रक्रियाको काम छिटो टुङ्ग्याउन नेतृत्व तहलाई आग्रह गरेका छन् । ऐतिहासिक जनयुद्धले ल्याएको परिवर्तनलाई आत्मसात गरेर संविधानमा उल्लेख भएको समाजबादलाई विकासको मुख्य आधार बनाएर जनताको पक्षमा लाग्नु पर्नेमा नेताहरु जोड दिएका छन् ।
सहिदको सपना पुरा गर्न कमजोरीलाई सुधार गर्नु पर्छः पौडेल
कार्यक्रमको प्रमुुख अतिथि रहनुु भएका प्रदेश तीनका सांसद शान्ती पौडेलले पूर्व माओवादी र पुर्व एमालेबीचमा देखिएका कमीकमजोरीलाई सुधार गरेर सहिदले देखाएको बाटोमा हिड्नु पर्ने बताए । उनले जिल्लामा पार्टी एकताको काम अन्तिम चरणमा पुगेको र केन्द्रको निर्देशन आउने बित्तिक्कै काम सम्पन्न हुने बताए । पछिल्लो समयमा संचार माध्यमले स्थानीय सरकारले गरेको कामलाई गलत तरिकाले व्याख्या गरेर समाचार सम्प्रेषण गरेको भन्दै तथ्यमा आधारित भएर लेख्न सुझाब दिए ।
कार्यक्रममा पुर्व संविधानसभा सदस्य तारानारायण श्रेष्ठले जनयुद्धको जगमा बनेको अहिलेको कम्युनिप्ट सरकारले सहिदको सपनालाई साकार वनाउनु पर्ने वताए । उनले तीन महिना भित्र सक्ने भनिएको स्थानीयस्तरमा पार्टीका एकीकरणको काम नौ महिना सम्म पनि नसक्दा कार्यकर्ताहरुमा निराशा बढ्दै गएकोले एकीकरणको काम छिटो टुङ्ग्याउनु पर्नेमा जोड दिए ।
देशको भविष्य ४१ हजार जनप्रतिनिधिको काधमा छः बस्नेत
मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले अहिलेको सरकारले जनयुद्धको जगमा निर्माण भएको संविधानलाई रक्षा गर्दे नेपाली जनतालाई परिवर्तनको अनुभुति दिन नसक्ने हो भने जनयुद्घले सार्थकता नपाउने बताए । उनले भने,‘अहिले ४१ हजार नप्रतिनिधि हुँदा पनि मुलुकमा परिवर्तन हुन नसक्ने हो भने मुुलुुकमा कहिल्यै पनि परिवर्तन आउँँदैन ।’ अहिलेको सरकारबाट नागरिकहरुले अपेक्षा गरेअनुसारको काम नहुने हो भने हिजोको पंचायत र नेपाली काँग्रेसले गरेको कार्यशैलीबीच कुनै फरक नहुने उनले बताए ।
जनयुद्धकै कारण अहिलेको अपरिवर्तनःमोक्तान
दोरम्बा गाउँपालिकाका अध्यक्ष एवं नेकपाका रामेछापका नेता कमानसिं मोक्तानले जनयुद्धकै कारण भएको जनआन्दोलनले अहिलेको परिवर्तन सम्भव भएको बताए । उनले भने,‘नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले निकै ठूलो भूमिका खेलेको छ, परिर्वतनलाई आत्मसाथ गरेर अगाडि बढनु पर्छ ।’ पार्टी एकता भएको लामो समयसम्म पनि स्थानीय तहमा एकतको काम सम्पन्न नहुँदा एकतको भाव आउन नसकेको उनले बताए ।
जनयुद्धले निर्णायक भूमिका खेलेको छः घिसिङ
नेकपाका तीन नम्बर प्रदेश कमिटीका सदस्य टंकलाला घिसिङ ‘टकल’ले नेपालको राजनीतिक परिवर्तनको आन्दोलनमा जनयुद्धको निर्णायक भूमिका रहेको बताए । उनले जनयुद्ध हुँदै जनआन्दोलनबाट ठूलो राजनीतिक उपलब्धि हासिल भएको बताउदै प्राप्त उपलब्धिलाई हरेक जनताहरुले महशुस गर्ने गरी व्यवहारिक रुपमा रुपान्तरण गर्नुपर्ने आवश्यता रहेको बताए । पार्टी एकता र सरकारको काम कारवाहीको विषयालई लिएर निराशा बोक्ने र असन्तुष्टि जनाउन छोडेर रामेछापलाई समृद्ध बनाउने कार्यमा नेताहरु लाग्नु पर्ने बताए । नेता घिसिङले भने,‘रामेछापलाई समृद्ध बनाउने दायित्व र जिम्मेवारी रामेछापका नेता र कार्यकर्ताको काँधमा आइपुगेको छ, सबैले आ–आफ्नो भूमिका निर्वाह गर्ने बेला आएको छ ।’
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एवं नेकपाका नेता प्रेम खड्का, जिउदो शहीद, शंकर वोहोरा, प्रेम कार्की, मन्थली नगरपालिकाका उपप्रमुख माया कार्की लगायतले जनयुद्धको बारेमा चर्चा गरेका थिए ।