जेष्ठ नागरिकको मन जित्दै खाँडादेवी गाउँपालिका



२ फागुन, रामेछाप ।
खाँडादेवी गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई घर दैलोमा नै सेवा पुर्याउने उदेश्यले टोलटोलमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले जेष्ठ नागरिकहलाई घरदैलोमा नै सेवा दिने नीति अनुसार स्वास्थ्य शिविर सञ्चालन गरेको हो । गाउँपालिकाको ९ वटै वडाको टोलटोलमा डाक्टर र जनप्रतिनिधिहरुको सहभागीतमा सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा २९ सय ४६ जना जेष्ठ नागरिकहरुले सेवा लिएका छन् ।


खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले निर्वाचनको क्रममा जनतासँग गरिएको प्रतिबद्धता अनुसार निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए । उनले भने,‘चुनावी घोषणपत्रमा उल्लेख गरिएका एजेण्डा कार्यान्वयमा जुटेका छौं ।’ आगामी दिनमा पनि जेष्ठ नागरिकहरुको सेवा सुविधालाई ध्यान दिने बताउदै उनले गाउँपालिकाले जेष्ठ नागरिक कार्यविधि पनि पारित गरिएको छ, अध्यक्ष तामाङले भने । गाउँपालिकाभित्र जेष्ठ नागरिकहरुलाई विभिन्न कार्यक्रम मार्फत अभिनन्दन गर्दै आएको छ ।


जेष्ठ नागरिकहरुको लागि सञ्चालन गरिएको स्वास्थ्य शिविर कार्यक्रम अन्तर्गत खाँडादेवी गाउँपालिका–७ खाँडादेवीको बसेरीमा रहेका सीमान्कृत थामी समुदायका विद्याथीहरुको पनि स्वास्थ्य परीक्षण गरिएको छ । गौरीशकंर प्रावि खाँडादेवीमा अध्ययनरत ३६ जना विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्