रामेछापको भालुखोपमा १७ सय मिटर उचाईमा बोरिङबाट पानी निस्कियो



राजन महतारा क्षेत्री
३ फागुन, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ६ र ७ को सीमानामा पर्ने पर्यटकीयस्थल भालुखोप डाँडामा बोरिङ (ड्रील) प्रविधिबाट खानेपानी तान्ने कामको सुरुवात गरिएको छ । १७ सय मिटर उचाईमा रहेको रामेछापको भालुखोप डाँडामा बोरिङ प्रविधि मार्फत खानेपानी तान्ने प्रविधिको प्रयोग गरी पानी तान्ने काम गरिएको हो ।


तीन नम्बर प्रदेश सरकारको ३० लाख र रामेछाप नगरपालिकाको १४ लाख गरी कुल ३४ लाख लागतमा बोरिङ प्रविधिबाट खानेपानी तान्न काम सुरु भइसकेको छ । काम सुरु भएको केही दिनमै ६५ मिटर गहिराइमै पानी भेटिएको रामेछाप नगरपालिका–७ का वडा अध्यक्ष समिर कार्कीले बताए ।
ड्रील प्रविधिबाट खानेपानी तान्न लगभग १८० मिटरको उचाइ हुनुपर्ने र त्यो उचाई भालुखोपमा रहेकाले यस कामको सुरुवात भएको उनले जाकारी दिए । भालुखोपमा यो प्रविधि मार्फत पानी परीक्षण पूर्ण रुपमा सफल भए भालुखोप, गाईघाट, ओख्रेनीका करिब एक हजार परिवार लाभान्वित हुनेछन् । वडा अध्यक्ष कार्कीका अनुसार भालुखोपमा बोरिङ प्रविधि मार्फत २ इन्चसम्मको पानी निस्कन सक्ने प्राविधिकहरुको अनुमान गरेका छन् ।


खानेपानीको निकै समस्या भोग्दै आएको भालुखोप आसपासका क्षेत्रमा यो प्रविधि सफल भए अन्य क्षेत्रमा पनि बोरिङ प्राविधि प्रयोग हुनेछ । रामेछाप जिल्लाको मन्थली नगरपालिका, रामेछाप नगरपालिकाका अधिकाशं क्षेत्र सुख्खाग्रस्त रहेकाले तामाकोसी नदी र अन्य खोलाबाट लिफ्ट मार्फत खानेपानी आयोजनाको काम अगाडि बढाइएको छ । लिफ्ट खानेपानी आयोजना निकै खर्चिलो भएकाले सम्भावित खानेपानी स्रोतको पहिचान गरि बोरिङ प्रविधि मार्फत खानेपानीको मुहानको खोजी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्