खाँडादेवी गाउँपालिकामा हाटबजार फस्टाउदा किसान उत्साहित (फोटोफिचर)



११ फागुन, रामेछाप ।

खाँडादेवी गाउँपालिकाभित्र उत्पादन भएका कृषिजन्य वस्तुहरु गाउँघरमा नै लाग्ने हाट बजारमा विक्री हुने क्रम बढेपछि कृषक उत्साहित भएका छन् । सदरमुकाम मन्थली र राजधानी काठमाडौं लैजानु भन्दा स्थानीयस्तरमा नै उत्पादित वस्तु विक्री हुने क्रम बढेपछि स्थानीय किसान कृषितर्फ थप आकर्षित भएका हुन् ।


गत बर्षबाट खाँडादेवी गाउँपालिकाको पहलमा गाउँपालिकाको केन्द्रसँग रहेको घ्याङसिङडाँडामा हरेक हप्ता मंगलवार हाटबजारको सुरुवात गरिएको थियो । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले स्थानीयस्तरमा उत्पादन हुने कृषिजन्य वस्तु विक्रिवितरण गर्न हाजबजारको सुरुवात गरिएको बताए ।


उनले भने,‘गाउँपालिकाभित्र उत्पादन भएको वस्तुलाई पालिकाभित्र नै बेचविखन गर्दा किसान खुसी छन ।’ अध्यक्ष तामाङले हाल हाटबजार सञ्चालन भइरहेको बजारलाई व्यवस्थित गरेर लैजाने विषयमा गाउँपालिकाले सोच राखेको बताए ।
हाटबजारमा गाउँघरमा नै उत्पादन हुने ताजा तरकारी, फलफुल र अन्नवाली आकर्षक मानिएका छन् । गाउँपालिकाको केन्द्रमा बढ्दो चहलपहलसँगै हाटबजारमा किनमेल गर्नेहरुको उपभोक्ताहरुको भीड पनि बढदै जान थालेको छ । मंगलवार हाटमा आँङगेटार, गागल भदौरे, धारापानी, टिमु लगायतका क्षेत्रमा कृषहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरु विक्रीको ल्याउने गरेका छन् ।


गत बर्ष हाट बजार उदघाटन गरेका नेकपाका केन्द्रीय सदस्य एवं पूर्व सांसद देवशंकर पौडेलले हाट बजारले निरन्तरता पाएकोमा खुसी व्यक्त गरे । उनले भने,‘गाउँघरमा उत्पादन भएको कृषिजन्य वस्तु गाउँमा नै विक्री हुनु सुखद पक्ष हो, यो समृद्धिको सुरुवात हो ।’ खाँडादेवी गाँउँपालिकामा हाट बजार नलाग्दा गाउँपालिकाका स्थानीयले यस अघि सदरमुकाम मन्थलीमा लाग्ने हाट बजारमा आफूले उत्पादन गरेको बस्तुभाउ लैजाने गरेका थिए ।
हाटबजारमा आलु, गोलभेडा, कागती, अदुवा, उखु, साग, काउली लगायतका कृषिजन्य वस्तुहरु विक्रिवितरण हुने गरेको छ ।

तस्बीरः देवशकंर पाैडेलबाट

प्रतिक्रिया दिनुहोस्