रामेछापमा रामचन्द्र पौडेललाई साक्षी राखेर कांग्रेस नेता चौलागाई र तामाङको दोहोरी



१२ फागुन, रामेछाप ।
खाँडादेवी गाउँपालिका–२ मझुवामा निर्माण भएको विद्यालय भवनको उदघाटन गर्ने प्रमुख अथिति थिए नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । नेता पौडेल शनिवार हिलिकोप्टर मार्फत मझुवा पुगेका थिए । खाँडादेवी माविले नवनिर्मित विद्यालय भवन निर्माण गर्नको लागि स्थानीय सरकारका जनप्रतिनिधि, राजनीतिक दलका नेता र समाजका विभिन्न व्यक्तिहरुलाई विद्यालयले निमन्त्रणा गरेको थियो ।
विद्यालयको आतिथ्यता स्वीकार गर्दै जनप्रतिनिधिदेखि राजनीतिक दलका नेताहरु उपस्थित भएका थिए । नवनिर्मित विद्यालय भवन निर्माण हस्ताक्षण गर्ने कार्यक्रममा अधिकाशं रामेछाप कांग्रेसका नेताहरु सहभागी भएका थिए । कार्यक्रम विद्यालयले आयोजना गरेपनि मञ्च भने कांग्रेस नेताहरुको असन्तुष्टि पोख्ने थलोको रुपमा परिणत भएपछि कांग्रेसका नेताहरु रातोपिरो भएका थिए ।


कार्यक्रममा प्रमुख अथितिलाई हेलिकोप्टरमा लाने व्यक्ति थिए, कांग्रेसका जिल्ला नेता भरत चौलागाई । सुनापती गाउँपालिका–१ गुन्सीका चौलागाई काठमाडौंबाट तीन घण्टामा पुगिने ठाउँमा पनि हेलिकोप्टर चार्टर गदै आएका छन् । चौलागाई आफूलाई समाजसेवी भन्दै दावी गर्दै आएका छन् । पछिल्लो समयमा विभिन्न विद्यालयमा झोला बाँडने भन्दै कांग्रेस नेता सहित रामेछापका विद्यालयहरुमा हेलिकोप्टर चार्टर गर्दै जाने गरेका छन् ।

खाँडादेवी माविको कार्यक्रममा पनि चौलागाईले विद्यार्थीहरुको लागि झोला र ट्याकसुट लिएर गएका थिए । आयोजकले पनि उनलाई बोल्न समय दिएको थियो । उनले कार्यक्रममा आफू समाजसेवी भएको र विद्यालयका विद्यार्थीहरुलाई सहयोग स्वरुप झोला र टयाकसुट ल्याएको बताएका थिए । चौलागाईले वरिष्ठ नेता पौडेल आगामी निर्वाचनपछि देशको प्रधानमन्त्री र पार्टी सभापति हुने दावी गर्दै प्रशसा गरेका थिए । उनले भने,‘म समाजसेवी हुँ, विद्यालयहरुमा सहयोग गर्दै आएको छु ।’
चौलागाईले बालेपछि आयोजकले कांग्रेसका जिल्ला नेता वीर बहादुर तामाङलाई बोल्न समय दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेता तामाङले भरत चौलागाईको कडा आलोचना मात्र गरेनन, गम्भीर प्रश्न समेत उठाए । उनले चौलागाईलाई लक्षित गर्दै भने,‘कांग्रेसका नेताहरु हेलिकोप्टर चढने, भूमाफिया र जलमाफियाहरु पार्टीमा प्रवेश गर्नु राम्रो संकेत होइन ।’ विद्यालयको लागि झोला टयाक्सुट ल्याएको रहेछ, त्यो झोला तस्कर गरेर ल्याएको हुन सक्छ, विचार गरेर मात्र लिनु पर्छ, तामाङले भने ।
कांग्रेस नेताहरुबीच आरोप प्रत्यारोप भएपछि आयोजकले शैक्षिक थलोमा राजनीतिक भाषण गर्ने थलो नभएको समेत बताउनु परेको थियो । काग्रेस नेताहरुको दोहोरी सुनेपछि काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक क्रान्ति सम्पन्न भएकाले अब कृषि क्रान्ति गर्नुपर्ने बताएका थिए । नेता पौडेल पाँच घण्टा मझुवा बसेर पुनः हेलिकोप्टर मार्फत काठमाडौं फर्किएका थिए । कांग्रेसका नेता चौलागाई र तामाङले सार्वजनिक मञ्चमा आरोप–प्रत्यारोप गरेपछि कांग्रेसभित्र नयाँ बहस सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्