उमाकुण्ड गाउँपालिकामा सुरु भयो प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता, कसले मार्ला बाजी ?



रामचन्द्र वि.क.
१२ फागुन, रामेछाप । संघीय सरकारका युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले खेलकुदकै माध्यमबाट देशको विकास गर्न सकिने बताएका छन् । रामेछापको उमाकुण्डमा सुरु भएको प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगीताको उद्घाटन गर्दै उनले विश्वमा नेपाल भन्दा साना देशले खेलकुदकै माध्यमबाट विकास गरेको स्मरण गर्दै नेपाल पनि त्यो बाटोलाई रोज्नु पर्ने बताएका हुन् ।
नेपाललाई प्रकृतिले पनि खेल खेलाउने भुगोल दिएकाले त्यसलाई अध्ययन गरेर खेलकुद पूर्वधार निर्माणमा लाग्नु पर्ने बताउदै मन्त्री विश्वकर्माले खेलकुदको क्षेत्रमा सरकारले ७० प्रतिशत दिने गरी स्थानीय तह खेलकुद पुर्वधार निर्माण सम्बन्धी कार्यविधि ल्याइसकेकाले स्थानीय तहलाई योजना माग गर्न आग्रह समेत गरे ।


कार्यक्रममा प्रतिनिधिसभाका सांसद एवं पूर्व गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले वर्तमान सरकारले जनताका कार्यक्रमलाई वैज्ञानिक रुपले अघि बढाई रहेको दावी गरे । उनले अब कुनै पनि नेपाली बेरोजगार हुनु नपर्ने गरि कार्यक्रम ल्याइएको बताए ।
उक्त कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद शान्ति प्रसाद पौडेलले सरकारले विकास निर्माणको कामलाई तीब्रता दिएको बताउदै आगामी दिनमा निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार नै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले गाउँपालिकाको तर्पmबाट केन्द्र र प्रदेश सरकारलाई ध्यानाकर्षण सहितको मागपत्र प्रस्तुत गरेका थिए । उनले रामेछापको अति दुर्गम क्षेत्रको रुपमा रहेको उमाकुण्ड गाँपालिकाको आर्थिक, सामाजिक तथा खेलकुद विकासमा ध्यान दिन केन्द्र र प्रदेश सरकारलाई आग्रह गरे ।

गाउपालिकाकाकी उपाध्यक्ष उर्मिला कार्कीले गाउँपालिकाको विकासको लागि स्थानीय सरकारल अहोरात्र लागि रहेको बताउदै समृद्ध उमाकुण्ड गाउँपालिका बनाउनको लागि प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्ने जोड दिइन ।

कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का, गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्ग सुनुवार, नेकपाका नेता आनन्द श्रेष्ठ, नेपाली कांग्रेसका नेता झपडराज भण्डारी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ सुरु भएको प्रतियोगीतामा ८ ओटा खेलहरु रहेको आयोजक उमाकुण्ड गाउँपालिकाले बताएको छ । पुरुष र मलिहला भलिबल, रिले दौड, १०० मिटर र ४०० मिटर महिला पुरुष दौड, ज्याम्लिङ्ग थ्रो, सर्ट फुट, नृत्य प्रतियोगीता र लङ जम्प खेलहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्