रामेछापलाई अण्डामा आत्मनिर्भर बनाउन जुटे अण्डा उत्पादक किसान



१२ फागुन, रामेछाप । रामेछापलाई अण्डामा आत्मनिर्भर बनाउन अण्डा उत्पादक किसानहरु जुटेका छन् । जिल्लालाई अण्डामा आत्मनिर्भर बनाउने तथा आफूहरुले भोग्दै आएका समस्यालाई समाधान गर्ने गरी रामेछाप अण्डा उत्पादक संघ गठन गरी किसानहरु एकजुट भएका हुन् ।
जिल्ला भन्दा बाहिरबाट आयत हुने अण्डाको कारणले आफूहरुले उत्पादन गरेका अण्डाले बजार नपाँउदा किसानहरु चिन्तित हुँदै आएका थिए । शनिबार अण्डा उत्पादक किसान सुमन कुमार श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति समेत बनेको छ ।

कार्य समितिका उपाध्यक्षमा मनोज खड्का, सुचिवमा सुनिल कुमार रायमाझी, सह–सचिवमा प्रकाश विक, कोषाध्यक्ष निर्मला कार्की र सदस्यहरुमा नविन श्रेष्ठ, सञ्जय श्रेष्ठ, रुपा श्रेष्ठ, हर्क बहादुर खत्री, डिकबहादुर प्रधान, भीम कुमार श्रेष्ठ, ओमबहादुर श्रेष्ठ, राजन कार्की, राजु श्रेष्ठ, मिना विक, सरिता श्रेष्ठ, दिनेश विक, चमेली मानन्धर र सरिता श्रेष्ठ रहेका छन् ।

किसानहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुँदा बाहिरबाट अण्डा ल्याएर विक्री गर्ने अण्डा व्यापारीहरुलाई फाइदा हुँदै गएको र जिल्लाका किसानहरुलाई मर्का पर्दै गएकाले आफूहरु संगठित भएको अध्यक्ष सुमन कुमार श्रेष्ठले बताए । लामो समयसम्म स्टोर गरी राखेको अण्डा जिल्ला बाहिरबाट भित्र्ने हुँदा उपभोक्ताको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने अध्यक्ष श्रेष्ठले दाबी गरे । उनले जिल्लालाई अण्डामा आत्म निर्भर बनाउने अभियानमा आफूहरु लागेकाले अबको केही महिनाभित्रै जिल्लाका उपभोक्ताले ताजा अण्डा पाउँने बताए । जिल्लामा हाल ३० भन्दा बढी अण्डा उत्पादक किसानहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्