चार बर्षमा रामेछापको मुहार फेर्ने गरी काम गछौंः मन्त्री ढुंगेल



१२ फागुन, रामेछाप ।
प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लाभित्र विकास निर्माणको काम तीब्र गतिमा अगाडि बढेको बताएका छन् । जिल्लालाई समृद्ध बनाउनको लागि विकास निर्माणको कामलाई नै अगाडि बढाउने कार्यमा लागि परेको बताउदै उनले विकास निर्माणको प्राथमिकता निर्धारण गरेर बजेट विनियोजन गरिएको बताएका हुन् । प्रदेश सरकारले जिल्लाका रणनैतिक सडक कालोपत्रे काम अगाडि बढाइसकेको बताउदै मन्त्री ढुंगेलले थप सडकको पहिचान गरेर आगामी बर्ष बजेट हाल्ने प्रतिबद्धता व्यक्त गरे ।


रामेछाप नगरपालिका–३ साँघुटारस्थित हिमगंगा माविको ६४ औ बार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले प्राविधिक शिक्षाले नै सरकारले अगाडि सारेको समृद्धिको नारा साकार हुने बताए । प्रदेश सरकारले प्राविधिक विद्यालयको रुपमा हिमगंगालाई छनोट गरेको उल्लेख गर्दै शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्न अभिभावक, शिक्षकहरु जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
मन्त्री ढंगेलले जिल्लाको विकासको लागि जलस्रोत, पर्यटन, कृषि नै प्रमुख आधार भएको बताउदै भने,‘तीन तहको सरकार बनेको छ, अब पनि पैसा पुगेन, समय पुगेन भनेर सुख पाइने अवस्था छैन, सबैले आफ्नो दायित्व र कर्तव्य पूरा गर्ने बेला आएको छ ।’ चार बर्षभित्र रामेछापको मुहार फेर्ने गरी काम गछौ, उनले भने ।


उनले सेलघाट, रामेछाप साँघुटारसम्मको सडक कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढिसकेको बताउदै लिखु करिडोरको कामलाई तीब्रता दिनको लागि प्रदेश सरकारले काम गर्ने बताए । मन्त्री ढुंगेलले रामेछापको विकाको लागि आफू मन बचन र कर्मबाट प्रतिबद्ध भएर लागेको र निर्वाचनमा जनतासँग गरिएको प्रतिबद्धता पूरा गर्ने बताए ।
कार्यक्रममा नेकपाका नेता एवं पूर्व सभासद तारानारायण श्रेष्ठले शिक्षा क्षेत्रको गुणस्तरमा सुधार ल्याउनु पर्ने बताउदै सबै पक्ष जिम्मेवार भएर लाग्नु पर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले शिक्षा क्षेत्रको सुधारले मात्र समाज रुपान्तरण गर्न सम्भव भएकोमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्