रामेछापको हिलेपानीमा बोरिङबाट पानी आएपछि खुसीयाली



राजन महतारा क्षेत्री
१३ फागुन, रामेछाप । खानेपानीको समस्या झेल्दै आएका रामेछाप नगरपालिका–७ हिलेपानीमा बासिन्दा बोरिङ (ड्रील) प्रविधिबाट खानेपानी आएपछि खुसी भएका छन् । १५ सय मिटर उचाईमा रहेको रामेछापको हिलेपानी काली कुवामा बोरिङ प्रविधि मार्फत खानेपानी आएपछि गाउँभर खुसीयाली छाएको हो ।


हिलेपानीमा पुजाआजा सहित बोरिङ प्रविधिबाट खानेपानी तान्ने कामको सुरुवात भइसकेको छ । काम गर्दै जाँदा ४५ मिटरको गहिराइमै पानीको स्रोत भेटिएको र अझ गहिराईमा जाँदा पानीको मात्रा पनि बढ्दै गएको रामेछाप नगरपालिका–७ का वडा अध्यक्ष समिर कार्कीले बताए ।
हिलेपानीमा यो प्रविधि मार्फत पानी परीक्षण पूर्ण रुपमा सफल भए खानेपानीको समस्या भोग्दै आएका वडा नम्बर ७ सुकाजोरका ५ सय घरधुरी लाभान्वित हुनेछन् ।


वडा अध्यक्ष कार्कीका अनुसार हिलेपानीमा बोरिङ प्रविधि मार्फत दिगो रुपमा पानी निस्कन सक्ने प्राविधिकहरुले अनुमान गरेका छन् । खानेपानीको निकै समस्या भोग्दै आएको हिलेपानी आसपासका क्षेत्रमा यो प्रविधि सफल भए अन्य क्षेत्रमा पनि बोरिङ प्राविधि प्रयोग हुनेछ ।


यस अघि रामेछाप नगरपालिका–६ र ७ को सीमाना भालुखोपमा पनि यो प्रविधि सफल भइसकेको छ । रामेछाप जिल्लाको मन्थली नगरपालिका, रामेछाप नगरपालिकाका अधिकाशं क्षेत्र सुख्खाग्रस्त रहेकाले तामाकोसी नदी र अन्य खोलाबाट लिफ्ट मार्फत खानेपानी आयोजनाको काम अगाडि बढाइएको छ । लिफ्ट खानेपानी आयोजना निकै खर्चिलो भएकाले सम्भावित खानेपानी स्रोतको पहिचान गरि बोरिङ प्रविधि मार्फत खानेपानीको मुहानको खोजी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्