हेलिकोप्टर दुर्घटनाः मन्त्री अधिकारीसँगै विदा भए रामेछापका घिमिरे



१५ फागुन, काठमाडौं ।
ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ज्यान गुमाउने सात जना मध्ये मन्त्री अधिकारीका पर्सनल सेक्यूरिटी अफिसर (पीएसओ) अर्जुन घिमिरे पनि छन् ।
सैनिक मुख्यालय जंगी अड्डाको अभिलेख अनुसार घिमिरे २०५८ सालमा नेपाली सेनाको सेवामा प्रवेश गरेका थिए । सैनिक मुख्यालयका अनुसार उनी गत १० भदौदेखि मन्त्री अधिकारीको गार्ड कमाण्डर भएर खटिएका थिए । मुख्यलायका अनुसार हाल घिमिरे सेनाको जमदार पदमा कार्यरत् थिए ।


०३९ सालमा जन्मिएका घिमिरेको स्थायी घर रामेछापको साबिक गुम्देल गाविस–७, हाल उमाकुण्ड गाउँपालिका–१ मा रहेको छ । केहीवर्ष अघि सेनाको शान्ति मिसनमा गएर उनले कीर्तिपुरमा घर पनि बनाएका थिए । हाल कीर्तिपुरस्थित घरमा उनकी श्रीमती शैलु घिमिरे र १० वर्षीय छोरा असिम घिमिरे रहेका छन् ।
घिमिरेले डिप्लोमा तहसम्मको पढाइ सकेका छन् । उनले ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा पढेका थिए । प्रारम्भिक शिक्षा भने जनसेवा माविबाट लिएका थिए भने एसएलसी हिममगंगा मावि, सोलुखुम्बुबाट दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्