घिमिरेको परिवारमा अर्को बज्रपात, श्रीमती भावविहल, शोकमा आफन्त



१६ फागुन, काठमाडौं ।
भनिन्छ–जीवन कर्कलाको पानी हो । जति बेला पनि पोखिन सक्छ । जन्मसँगै मृत्यु सत्य हो । यो सत्यलाई अस्वीकार गर्न कसैले पनि सक्दैन । आकास्मिक मृत्युको खबरले ठूलो चोट र पीडा दिएर जाने गरेको हुन्छ । बुधवार दुःखद दुर्घटना भयो । संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधिकारीसँगैको टोलीमा सहभागी सात जना मध्य मन्त्रीका अंगरक्षक अर्जुन घिमिरेको पनि निधन भयो । बुधवार बिहान ७ बजे किर्तिपुरबाट निस्किएका घिमिरेले श्रीमती र छोरालाई बेलुकी फर्कने भन्दै विदा भएका थिए ।


तर उनको त्यो विदाई श्रीमती र छोराको लागि अन्तिम बन्यो । हाँस्दै विदा भएका श्रीमान अब कहिले नफर्कने गरी विदाइ भएर गएका छन् । मन्त्रीसँगै हेलिकोप्टर दुर्घटनामा ताप्लेजुङमा घिमिरेको पनि निधन भएपछि उनकी श्रीमती शैलु घिमिरे बेहोस अवस्थामा छिने भने आठ बर्षिय छोरा असिम अझै बुबा आइहाल्नु हुन्छ कि भन्ने आशामा छन् ।
घिमिरेको परिवार शोकमा डुबेको छ । घिमिरेको परिवारले सबैलाई माया गर्ने एउटा मुटुको टुक्रा गुमाएको छ । निधन भएको खबर पाएपछि घिमिरेको श्रीमती अहिले कुपन्डमा रहेकी छिन् । परिवार र आफन्त सबैको आँखामा आँशु थामिन सकेको छैन् । सबै भावविहल छन् । घिमिरेकी श्रीमती शैलुको हृयदविदारक चित्कार सुनेर संमवेदना दिने जाने सबैको आँखा रसाएका छन् ।
दैव पनि निकै निष्ठुरी भए, घिमिरेका आफन्त सुसन वस्नेत भन्छन–हामीले प्यारो दाई गुमायो, विश्वास लाग्न सकिरहेको छैन, अझै पनि दाई फर्किएर आउनुहुन्छ कि जस्तो लाग्छ ।’ सपना हो कि विपना छुटयाउन नै मुस्किल भइरहेको बताउदै वस्नेतले परिवारले एउटा मुटुको टुक्रा गुमाएको बताए । ‘भाउजु सम्हालिन सक्नुभएको छैन, हामी पनि निशब्द छौ’, वस्नेतले भने ।
किर्तिपुरमा बस्दै आएको घर उदास छ । परिवारको आँखामा रुदारुदै आँशु रित्तिएका छन् । छ महिना अघि मात्र दस बर्षदेखि विरामी भएर थपिएका अर्जुन घिमिरेका बुबा वितेका थिए । तर छ महिना बीचमै घिमिरेको पनि निधन भएको छ । अर्जुनकी आमा ६५ बर्षकी मिठु घिमिरे भावविहन अवस्थामा काठमाडौ ल्याएको छ । छोराको निधन भएको खबर सुनेदेखि आमा सम्हालिन सकेकी छैनन् । उनलाई छोरा घाइते छ भनेर काठमाडौ ल्याइएको थियो ।


नेपाली सेनाको जमदार पदमा रहेका घिमिरे केहीदिनयता ज्यरोको कारण बिरामी पनि थिए । भद्र स्वभावि, मिजासिलो बोलीबचन सबैको प्रिय थिए अर्जुन घिमिरे ।
रामेछापको उमाकुण्ड गाउँपालिका– गुम्देलमा उनका बुवा बितेपछि आमा एक्लै बस्दै आएकी छिन् । घिमिरेको निधनसँगै आमाले बुढेसकालेका सहारा पनि गुमाएकी छिन् । विगत १८ बर्षदेखि घिमिरे नेपाली सेनामा कार्यरत छन् ।
मृतक अर्जुन घिमिरेका काका श्याम घिमिरेले खराब मौसम भएको बुझ्दा बुझ्दै हेलिकोप्टर चलाउनु गल्ती भएको बताउदै भतिजको निधनले परिवारमा ठूलो बज्रपात परेको बताए । उनले रामेछाप न्युजसँग भने,‘छ महिना अघि दाईलाई गुमायौ, छ महिनापछि अहिले छोरालाई गुमाउनु पर्दाको पीडा सहन हामीले सकिरहेका छैनौ ।’
घिमिरेको आफन्तले भने सरकार, नेपाली सेना र हेलिकोप्टर कम्पनीले उचित क्षतिपूर्ति दिनुपर्ने बताएका छन्। । परिवारको आड भरोसाको रुपमा रहेको छोराको निधनले परिवारमा बज्रपात परेको भन्दै ८ बर्षका छोराका लागि निःशूल्क उच्चशिक्षाको व्यवस्था, श्रीमतीका लागि जागिर पाउनु पर्ने बताएका हुन् । ०३९ सालमा जन्मिएका घिमिरेको स्थायी घर रामेछापको साबिक गुम्देल गाविस–७, हाल उमाकुण्ड गाउँपालिका–१ मा छ । घिमिरे परिवारको जेठो छोरा थिए । ५ जना छोराछोरी मध्ये ३ बहिनीहरुको विवाह भइसकेको छ भने अर्जुन घिमिरेका भाई भिमसेन घिमिरे पनि नेपाली सेनामै कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्