रामेछापका स्व.घिमिरेका परिवारलाई प्रधानसेनापति थापाले भेटे



१७ फागुन, काठमाडाैं ।
प्रधान सेनापति पूर्णचन्द्र थापाले ताप्लेजुङग हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका नेपाली सेनाका जमदार अर्जुन घिमिरेको शोकसन्तप्त परिवारलाई उनको निवासमा पुगेर भेट गरेका छन् । प्रधान सेनापति थापाले स्वर्गीय घिमिरेको परिवारलाई भेट गरि समवेदना प्रकट गरेका हुन् । प्रधान सेनापति थापाले स्वर्गीय घिमिरेका आमा, श्रीमती र छोरालाई भेटेर शोकको घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गरेका छन् ।


तेह्रथुमका चिहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीको अंगरक्षकको रुपमा घिमिरे सात सदस्यीय टोलीमा गएका थिए । कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौं फर्किने क्रममा बुधबार ताप्लेजुङको तारेभीरमा हेलिप्कोटर दुर्घटना हुँदा मन्त्री अधिकारी सहित सात जनाको निधन भएको थियो ।


दुर्घटनामा परी मन्त्री अधिकारी, यति एयरलाईन्सका प्रबन्ध निर्देशक, आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका अंग रक्षक अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।


हेलिकोप्टर दुर्घटनामा परी निधन भएका ५ जनाको पशुपति आर्यघाटमा आज दाह संस्कार गरिएको छ छ । मन्त्री अधिकारीको गृह जिल्ला पोखरामा अन्त्येष्टि गरिएको छ । यति एयरलाइन्सका प्रबन्ध निर्देशक शेर्पाको भने आइतवार मात्र अन्त्येष्टि गरिने भएको छ । अन्त्येष्टि अघि हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाउने सात जनाको पार्विव शरीलाई टुडिखेलमा श्रद्धान्जलीको लागि राखिएको थियो । रामेछाप निवासी स्वर्गीय घिमिरेको पार्थिक शरीरलाई उनका भाई भिमसेन घिमिरे र छोरा असिम घिमिरेले दागवत्ती दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्